Monday, September 21, 2020

हरिवन स्थित जीर्ण चापिनी पुलका कारण दुर्घटनाको जोखिम





लोकतन्त्र समाचारदाता---

सर्लाही ,असोज ५

     पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका स्थित चापिनी पुल आवश्यक मर्मत सम्भार तथा उचित रेखदेखको अभावमा क्षतिग्रस्त भई दुर्घटनाको उच्च जोखिममा रहेको छ ।

   उक्त पुल भएर चल्ने सवारीसाधन जुनसुकै बेला पनि दुर्घटनामा पर्न सक्ने स्थानीयले बताएका छन् । वर्षौं पहिला निर्माण गरिएको ६६.३ मिटर लामो उक्त पुल भएर दैनिक हजारौंको संख्यामा  ठूला मालबाहक ट्रक, साना ठूला बस , ट्याक्टर, जिप तथा  तिनपाँग्रे र दुई पाँग्रे सवारीसाधनहरु संचालन हुने गरेको छ । दैनिक हजारौंको संख्यामा गुड्ने ठुला सवारीसाधनहरुले  पुलको सतह र रेलिङ भत्काएर  जीर्ण अवस्थामा पुर्याएको  स्थानीयवासीहरुले बताए ।

  त्यस्तै सोही राजमार्गमा  निर्माण भएका थप दर्जनौं  पुराना पुल पनि ठाउँठाउँमा भत्किएको छ ।  क्षमताभन्दा अधिकतम भार बोक्ने मालवाहक १६ चक्के ट्रकदेखि अन्य सवारीसाधन संचालनका कारण जीर्ण भएको चापिनी  पुलमा अहिलेसम्म दर्जनौँ सवारीसाधन दुर्घटना भइसकेका छन् । दुर्घटनामा परेर  कयौं यात्रुको मृत्यु भएका छन् भने कयौंका हातखुट्टा भाँच्चिएको स्थानीयवासी बताउँछन् ।

    पुर्वपश्चिम राजमार्ग अन्तर्गत   प्रदेश न-२ मा पर्ने अधिकांश पुलहरु पुर्णरुपमा जिर्ण अवस्थामा रहेको छ ।जसबाट कुनैपनि बेला ठुलो  दुर्घटना घट्न सक्ने उच्च जोखिम रहेपनि संघ,प्रदेश तथा स्थानीय सरकार अहिलेसम्म कानमा तेल हालेर चिर निद्रामा सुतेको देख्दा स्थानीयबासीहरु चिन्तामा परेका छन् । 


No comments:

Post a Comment