Friday, March 18, 2022

सर्लाहीसहित तराई–मधेशका जिल्लाहरुमा आज अनेकतामा एकताको प्रतिक होली पर्व हर्षोल्लासका साथ मनाइएको छ




मनोज यादव---

सर्लाही,चैत्र ४

   सद्भाव, सौन्दर्य र रङ्गको  पर्व मानिएको फागु अर्थात होली तराई–मधेशका जिल्लाहरमा आज हर्षोल्लासपूर्वक मनाइएको छ।

     भौगोलिक संरचना र मान्यताअनुरूप हिमाली र पहाडी भेगमा पूर्णिमाका दिन ‘फागु’ काे रुपमा मनाइने यो पर्व मधेशमा पूर्णिमाको भोलिपल्ट मनाइन्छ ।    मधेशमा होरी, होली, फगुआ र फागुका नामले मनाइने यो पर्व प्रेम र स्नेहको चाड पनि हो । सबै प्रकारका आपसी मतभेद र भेदभावलाई भष्म गरी सबैलाई एउटै रङ्गमा रङ्गाएर होली खेलिन्छ। यसदिन बिहानै गाउँ गाउँका चौक,चौराहामा होलिका दहन गरि होलीको सुरुवात गरिन्छ।

     वैदिक यज्ञसँग जोडिएको होलीमा समद अर्थात आगोमा चीर डढाउने यो पर्वमा मिथिलाञ्चलमा नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा खाने चलन पनि रहेको छ ।फागुन पूर्णिमाका दिन तराई–मधेशमा कतिपय परिवारमा कुलदेवतालाई नैवेद्य चढाउने गरिन्छ, जसलाई मैथिली भाषामा ‘पातरि’ भनिन्छ । राति सामूहिकरूपमा होलिका दहन गरिन्छ ।

     होली पर्वको परम्परा ऋतुराज वसन्तका मित्र मदन अर्थात् कामदेवको पूजाबाट शुरू भएकाले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा पनि मनाइन्छ ।संस्कृतिविद् उग्रकान्त झा होलीमा सबै जातजाति,वर्ग र धर्म समुदायमा भेदभाव नगरी धनी, गरीब, उच, नीच सबै मिलेर मनाउने परम्परा भएकाले सदियौँदखि जीवन्त रहँदै आएकाे बताउँछन् । 

  आजभन्दा डेढ दुई दशक अगाडीसम्म  ढोल, डम्फु ,झाल, मृदङ्ग बजाएर नाचगान गरि सामुहिक रुपमा मनाइँदै आएको होली बढ्दो आधुनिकतासँगै गाउँगाउँबाट विस्तारै हराउँदै गएको छ।पछिल्लो समय यो पर्व केही ओझेलमा परेको पाइन्छ ।

   सांस्कृतिक महत्वका साथै वैज्ञानिक महत्व रहेको यस पर्वमा खेलिने रङ र अबिरले छालाको रोग निवारण गर्ने, होलिका दहनको धुवाँबाट शीतकालजन्य रोग नाश हुने, खरानीले दृष्टात्माको कुदृष्टि  नपर्ने मान्यता रहेको पाइन्छ ।

     तराई-मधेशमा होली पर्वले हिन्दु, मुस्लिम लगायत अन्य जातजातिमा एकताको सन्देश दिएको छ। यस पर्वले  असत्य माथि सत्यको जित, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रुपमा मनाइने होलीले अनेकतामा एकता कायम गरेको छ।

No comments:

Post a Comment