Tuesday, March 8, 2022

विभिन्न कार्यक्रमको आयोजना गरि पर्सा गाउँपालिकाले मनाए अन्तर्राष्ट्रिय महिला दिवस

 

"नारीको सम्मानमा कार्यक्रम गरेको भन्दै केन्द्रीय  कृषि मन्त्री   यादवले काठमाडौबाटै गापा अध्यक्षलाई  शुभकामना सन्देश पठाए"




मनोज यादव---

सर्लाही,फाल्गुन २४

   ११२औं अन्तर्राष्ट्रिय नारी दिवस सर्लाहीको पर्सा गाउँपालिकामा  विभिन्न कार्यक्रम गरि मनाइएको छ।

        "सामाजिक न्याय र लैंगिक समानता,दिगो विकासको सुनिश्चितता" भन्ने नाराका साथ पर्सा गापा अन्तर्गत महिला विकास शाखाको आयोजना तथा गापा उपाध्यक्ष ईन्द्रकला देवी साहको अध्यक्षता र गापा अध्यक्ष किशुनदेव यादवको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो।

   नेपालसहित विश्वभरिका महिलाहरूले हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै विभिन्न कार्यक्रमहरू गरि अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै आएका छन । सोही अवसरमा सर्लाहीको पर्सा गापाले ६ वटै वडाका वडाध्यक्ष,पालिकाका कर्मचारी,राजनैतिकर्मी,स्थानीय समाजसेवी तथा विद्यार्थीहरुको सहभागीतामा बिहान कार्यक्रम स्थल वडा न-६ स्थित पनपिइ पोखरी प्राथमिक विद्यालयको प्रांगनबाट महिला अधिकार सम्बन्धि विभिन्न नाराहरु लेखिएका प्लेकार्ड र ब्यानर लिएर गाउँपालिकाको विभिन्न वडा तथा टोलको परिक्रमा गरेका छन् ।त्यसैगरी दिवसकै अवसर पारेर महिला विकास शाखाले "लैंगिक समानताले महिला सशक्तीकरणमा खेलेको भूमिका"को विषयमा पालिका अन्तर्गतका विद्यालयमा अध्यनरत विद्यार्थीहरु बिच वक्तृत्वकला प्रतियोगिताको आयोजना गरि उत्कृष्ट  हुनेहरुलाई पुरस्कृत गरेको छ।

   दिवसकै अवसर पारेर पर्सा गापाका कर्मचारी,उत्कृष्ट महिला समाजसेवी र अपाङ्गता संजालकी महिला प्रतिनिधि धनलुटन देवीलाई समेत प्रमुख अतिथि गापअध्यक्ष यादव र उपाध्यक्ष साहले सम्मानित गरेको महिला विकास शाखा प्रमुख  चन्दा यादवले बताएकी छिन्। यसैगरी वार्षिक परिक्षामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गरेका गापा अन्तर्गतका सबै सामुदायिक विद्यालयका कक्षा ५ देखि  कक्षा १० सम्मका छात्राहरुको हौसला बढाउनको लागि उनीहरूलाई पनि सोही कार्यक्रम मार्फत पुरस्कृत गरिएको मवि शाखा प्रमुख यादवले जानकारी दिएकी छिन् ।

  दिवस मनाउने क्रममा गापा अध्यक्ष,उपाध्यक्ष तथा कार्यक्रममा उपस्थित भएका वडा न-१ देखि वडा न-६ का वडाध्यक्षहरु क्रमशः सुरेन्द्र कुमार राय,नागेन्द्र कुमार यादव,भिखारी साह,वैधनाथ राय यादव,उमेश कुमार राय र नन्दु राय लगायत प्रमुख प्रशासकीय अधिकृत सुरेश यादव,सशस्त्र प्रहरी बल बिओपी संग्रामपुर प्रमुख गंगा कार्की,प्रहरी चौकी पर्सा प्रमुख लगायतका अतिथिहरुले  वडा न-६ स्थित प्राथमिक विद्यालय नजिक रहेको पनपिई पोखरीको चारैतिर किनारमा बृक्षारोपण गरेका छन् ।

   दिवस मनाउँदै गर्दा  कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले काठमाडौबाटै महिलाको सम्मानमा कार्यक्रमको आयोजना गरेको भन्दै  गाउँपालिकालाई धन्यबाद दिनुहुँदै  कार्यक्रमको पुर्ण सफलताको लागि आफ्ना स्वकीय सचिव राजेन्द्र प्रसाद यादव मार्फत शुभकामना सन्देश पठाउनु भएको छ।

No comments:

Post a Comment