Thursday, March 3, 2022

मधेश प्रदेश(मिथिला)को महाकुम्भ ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

 



पप्पु अधिकारी---

धनुषा,फाल्गुन १९

   मधेश प्रदेश र मिथिलाको महाकुम्भ मानिने ऐतिहासिक १५ दिने धार्मिक माध्यमिकी परिक्रमा  सुरु भएको छ । 

   फागुन कृष्णपक्षको औंसीमा कचुरी मठबाट भगवान राम र जानकीको डोला सहित परिक्रमा सुरु भएको हो । 

    परिक्रमाको क्रममा विहिबार राति धनुषाको हुनमान नगरमा विश्राम गरेका परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालुहरु  शुक्रवार विहान पुजापाठ गरी भारत बिहार राज्यको कल्याणेश्वर प्रस्थान गर्नेछन् ।फागुन औंसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला बिहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको डोला जानकीमन्दिर भएर जनकपुरको हनुमाननगर पुगेपछि माध्यमिकी परिक्रमाको विधिवतरुपमा शुरुवातहुने परम्परा रहेकोे रत्नसागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णब बताउँछन् ।

   श्रद्धालु भक्तजनहरुले नेपाली भू–भागको ९० किलोमिटर र भारतको ३० किलोमिटर दुरी परिक्रमा गर्ने परम्परा छ ।नेपाल–भारत दुवै मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सदभावका प्रतीक बनेको परिक्रमायात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थलहरु रहेका छन्। 

सोही क्रममा धनुषाको हनुमाननगरबाट भारत बिहारको कल्याणेश्वर तथा फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्वरुकुण्ड हुंदै परिक्रमा कञ्चनवन पुग्छन् ।कञ्चनवनमा अग्निकुण्डाको आयोजनमा परिक्रमामा सहभागीहरुले एक आपसमा होली खेलेपछि औपचारिक रुपमा होलीको शूरुवात भएको मानिन्छ । 

त्यसपछि धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, विशौलहुँदै पुनः कल्याणेश्वरबाट जनकपुर र्फकेर विश्राम गर्छन् ।

    फागुन पुणिर्माका दिन परिक्रमावासीहरु जनकपुरको परिक्रमा अर्थात अन्तगृही परिक्रमा पुरा गरेर घर र्फकने गर्छन् ।

परिक्रमाको धार्मिक लस्करमा नेपाल भारत सहितका लाखौँ श्रद्धालुको सहभागिता रहेको गरेकोले मिथिला मधेशको महाकुम्भ भनेर प्रसिद्ध छ ।

No comments:

Post a Comment