Thursday, March 24, 2022

राष्ट्रिय सभा सदस्य पासवनद्वारा विपन्न, दलित तथा टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत १०

    बाल कल्याण समाज(cws) सर्लाहीले जिल्लाको विभिन्न सरकारी विद्यालयमा अध्यनरत ३० जना गरिब ,दलित ,टुहुरा तथा अपाङ्गता भएका बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

     संस्थाका अध्यक्ष सुन्दर श्याम रायको अध्यक्षता तथा राष्ट्रिय सभा सदस्य  राधेश्याम पासवानको प्रमुख अतिथ्यतामा बुधबार जनता मावि नवलपुरमा एक  कार्यक्रमको आयोजना गरि श्री जनता मावि  नवलपुर, श्री जानकी मावि लालबन्दी र श्री जनज्योति मा वि लालबन्दीमा अध्यनरत बालबालिकाहरुलाई  शैक्षिक सामग्री बितरण गरिएको हो।बालबालिकाहरुको लागि राष्ट्रिय सभा सदस्य पासवानले प्रति विद्यार्थी १६ थान अभ्यास पुस्तिका , १० थान बलपेन, १ थान औजार बक्स, १ थान कलर पेन्सिल र १ थान पिक्चर डिक्सनरी लगायतका शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको संस्थाका अध्यक्ष रायले बताए ।

    बालबालिकाहरुलाई विशिष्ट  अतिथि नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका सर्लाही जिल्ला अध्यक्ष राजेश पासवान, लालबन्दी न.पा-१ का वडाध्यक्ष पन्चलाल स्याङ्गवो,विद्यालयका शिक्षक,शिक्षिका र अभिभावकहरुको उपस्थितिमा शैक्षिक सामाग्री वितरण गरिएको थियो।

    सोही अवसरमा आयोजक संस्थाका अध्यक्ष रायले  सहयोगी दाता राष्ट्रिय सभा सदस्य पासवानलाई सहयोगको लागि धन्यबाद दिंदै गमछा ओढाइ सम्मान पत्र प्रदान गरि  सम्मान गरेका थिए। साथै रायले कार्यक्रमका लागी प्रभावकारी  सहजीकरण गरि  सहयोग गरिदिने जनता मावि का प्रअ बिनोद पौडेल लगायत सहभागी विद्यालयका शिक्षक प्रतिनिधि ,बुद्धिजीवी , समाजसेवी तथा अधिकारकर्मीहरुलाई समेत धन्यवाद दिएका थिए।

    कार्यक्रमको संचालन  आयोजक संस्थाका  कोषाध्यक्ष रबिन्द्र मण्डलले गरेका थिए।

No comments:

Post a Comment