Tuesday, March 29, 2022

सर्लाहीमा चुनावी चहल पहल बढ्यो ,प्रत्यासी तथा आकांक्षीहरु सार्वजनिक हुँदै

 




मनोज यादव---

सर्लाही,चैत १५

     बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनको समय नजिकदै जाँदा अन्य जिल्लाहरुमा जस्तै सर्लाहीमा पनि चुनावी चहल पहल शुरु भएको छ ।

     जिल्लाका गाउँ, शहर, टोल, बजार, चौक ,चौराहा तथा चिया खाजा पसलहरुमा चुनाव कै मात्र चर्चा चल्ने गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर विभिन्न पदका प्रत्यासीदेखि लिएर उनीहरुका कार्यकर्ता तथा समर्थकहरु उत्साहित देखिएका छन्।

    चुनावमा भाग लिने राजनीतिक दलहरुका नेता, कार्यकर्ता र समर्थकहरु बीच कसले जित्ने कसको हार हुने  साथै मत परिणामको सम्बन्धमा चर्चा परिचर्चा हुने गरेको छ।स्थानीय बौद्धिक वर्गका मानिसहरु एकाबिहानै देखि सडक, चिया पसल लगायतका सार्वजनिक स्थलमा एकआपसमा भेटघाट भएदेखि राति एकअर्कासँग नछुट्टिन्जेलसम्म आउँदो चुनावमा कुन पार्टीले बहुमत पाउने  कसले नपाउने भनि बहस चलाउने गरेकाले अहिले सर्लाही जिल्ला  चुनावमय बनेको छ। आम नागरिकहरु पनि यसै विषयमा केन्द्रित भएका छन् ।

     निर्वाचनको समय नजिक आउदै गरेकोले चुनाव लड्ने आकांक्षी रहेका नेताहरुले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदको लागि धमाधम उम्मेदवारी  घोषणा गरि सार्वजनिक भइरहेका छन् । कतिपयले उमेदवारी घोषणा गरिसकेका छन् भने कतिपय राजनीतिक पार्टीले प्रदान गर्ने टिकटको प्रतिक्षामा रहेका छन्। पार्टीबाट टिकट पाइसकेपछि मात्र आफु उमेदवार बनेको घोषणा गर्ने तयारीमा रहेको मलंगवा नगरपालिकाका  एकजना आकांक्षी उमेदवारले भने।   

  २० वटा स्थानीय तह रहेको सर्लाहीमा  नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीको बारेमा बढी बहस हुने गरेको देखिन्छन्।

No comments:

Post a Comment