Wednesday, December 15, 2021

जिल्लाको बिकट रामनगर गापा धुर्वा टोलमा स्वास्थ्य केन्द्र संचालनमा आएपछि स्थानीयहरु खुसी

 


मनोज यादव---

सर्लाही,मंसिर २९

   सर्लाही र रौतहट जिल्लाको बीच भएर बग्ने सर्लाहीको अती बिकट रामनगर गाउँपालिका वडा न-२ स्थित धुर्वा टोलमा आधारभूत स्वास्थ्य ईकाइ केन्द्रको स्थापना भएपछि त्यस क्षेत्रका बासिन्दाहरु खुसी भएका छन् । 

     वर्षौंदेखि सानोभन्दा सानो स्वास्थ्य समस्या हुँदा उपचारको लागि ३० किलोमिटर टाढा जिल्लाको सदरमुकाम मलंगवा अथवा बागमती नदी पारी रौतहटको सदरमुकाम गौर जानुपर्ने अवस्था रहेको थियो ।सानोतिनो रुघाखोकी ,ज्वरो लाग्दा समेत औषधोपचारको लागि टाढा जानुपर्दा समय र पैसाको बढी खर्च हुँदै आएको थियो । वर्षातको बेला बिरामी लानुपर्दा झनै समस्याको सामना गर्नुपर्ने अवस्था रहँदै आएको थियो । बागमती नदीमा पुल नहुँदा  बाढी आउँदा नदी तरेर जानसक्ने अवस्था थिएन । सिकिस्त रुपका बिरामीलाई उपचारका लागि अन्यत्र लानुपर्दा साँघुरो र हिलाम्मे सडकका कारण एम्बुलेन्स अथवा अन्य सवारीसाधन द्वारा लानसक्ने अवस्था समेत थिएन ।धुर्वा टोलमा आधारभूत स्वास्थ्य ईकाइ केन्द्रको स्थापना भएपछि वर्षौदेखि औषधोपचारको  समस्या झेल्दै आएका त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज भएको रामनगर गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सन्तोष यादवले बताए ।

   उक्त स्वास्थ्य ईकाइ केन्द्रको बुधबार एक कार्यक्रमका बीच कार्यवाहक गापा अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नीतु देवी यादवले उद्घाटन गरेका छन् ।

  रामनगर गापा स्वास्थ्य शाखाले आयोजना गरेको उद्घाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार यादव,वडा न-२ का वडाध्यक्ष कुशेश्वर ठाकुर,वडा न-१ का वडाध्यक्ष दिनेश मिश्र,वडा न-३ का वडाध्यक्ष हिरालाल साह,वडा न-४ का वडाध्यक्ष राम नरेश महतो,धुर्वा प्राविका प्रअ बिनोद साह लगायत स्थानीयबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment