Wednesday, December 29, 2021

सर्लाहीमा गरेका कार्यहरुका बारेमा सामीले गरे पत्रकारहरुसँग अन्तरक्रिया

 




अजिता चौधरी ---

सर्लाही,पुस १४

   सुरक्षित आप्रवासन परियोजना(सामी)ले सर्लाही जिल्लामा गरेका कार्यहरुको बारेमा बुधबार सर्लाही जिल्लाका पत्रकारहरु सँग अन्तरक्रिया गरेको छ।

   बुधबार मलंगवा स्थित रिपोर्टस क्लब नेपाल सर्लाही शाखाको आयोजना तथा शाखाका उपाध्यक्ष मनोज यादवको सभापतित्वमा  नेपाल सरकार र स्वीस सरकार बिच भएको द्विपक्षीय सम्झौता बमोजिम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत पहल ,प्रदेश सरकारको समन्वय ,जिल्लाका स्थानीय तहहरु मलंगवा ,हरिवन, बरहथवा नगरपालिका तथा चन्द्रनगर गाउँपालिकाको नेतृत्वमा सामी हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा  बागमती सेवा समाज नेपाल सर्लाहीको  सहजीकरणमा संचालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गतका कार्यक्रमहरुको विषयमा जिल्लाका विभिन्न राष्ट्रिय तथा स्थानीय  संचार गृहमा कार्यरत पत्रकारहरु सँग अन्तरक्रिया गरिएको हो ।

    रिपोर्ट क्लबको साक्षात्कार कक्षमा आयोजना भएको कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक संतोषी थापाले परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।उहाँले बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) ले काम गरी रहेकाे जानकारी गराउनु भयो ।

   बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने गरी सामीले काम गरिरहेको  कार्यक्रम संयोजक थापाले जानकारी दिनुभयो ।

   सामीको परियोजना सर्लाहीको मलंगवा,हरिवन, बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा संचालनरत रहेको छ ।

    मेडिया काउन्सिल प्रदेश न-२ का सदस्य बन्दना झाको प्रमुख आतिथ्यता र नेपाल पत्रकार महासंघ प्रदेश न-२ का कोषाध्यक्ष विश्वनाथ ठाकुरको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment