Wednesday, December 29, 2021

ईश्वरपुरको बयलबास घटनामा मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमती

 

लोकतन्त्र समाचारदाता---

सर्लाही १४ पुस 

    सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बैलवासमा प्रहरी भ्यानको ठक्करबाट मृत्यु भएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ क्षतिपूर्ति  दिने सहमति भएको छ । 

     आज(बुधबार)जिल्लाको  लालबन्दी स्थित इलाका प्रहरी कार्यालयमा पीडित पक्ष, सरोकारवाला र सुरक्षा अधिकारीहरु बीच भएको ६ घण्टा लामो छलफलबाट पीडितलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने साथै  घटनाको सम्बन्धमा  निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न प्रदेश प्रहरीमा अनुरोध गर्ने, मृतक रामकुमारमा आश्रित परिवारका सदस्यलाई रोजगार र शिक्षाको लागि स्थानीय तह, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स लगायतका संघ संस्थासँग समन्वय तथा अनुरोध गर्ने, प्रहरी र प्रशर्दनकारी बीच भएको झडपमा आम नागरिक तथा व्यक्तिहरुको सम्पतिमा पुग्न गएको क्षतिको विवरण संकलन  गरी क्षतिपूर्ति उपलब्ध गराउने तथा झडपमा घाईते भएकाहरुको उपचारका लागि प्रचलित कानून बमोजिम केन्द्रमा सिफारिस गर्ने लगायतका   सहमती भएको छलफलमा सहभागी संघीय सांसद प्रमाेद साहले जानकारी गराउनु भएको छ। 

    घटनाको विषयलाई लिएर भएका सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता लिइ राजनैतिक दल, संघ संस्था, उद्योगी व्यवसायी, नागरिक समाजले शान्ति सुरक्षा कायम राख्न पहल गर्ने र मृतकको शव बुझेर परम्परा अनुसार दाहसंस्कार गर्ने समेत सहमती भएको संघीय सांसद साहले बताउनुभयो । 

   मृतक रामकुमारको शव गएको आइतवार राती देखिनै जिल्ला अस्पताल मलंगवामा राखिएको छ । 

     आज भएको छलफलमा सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य  साह, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक चन्दन झा, जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेकाे थियो । 

   इश्वरपुर नगरपालिका क्षेत्रमा  मंगलबारबाट लगाइएको निषेधाज्ञा आज(बुधबार) साँझ ७ बजे सकिएको छ । पीडित पक्ष सहमतीमा आएपनि आक्रोशित भीड पुनः प्रदर्शनमा उत्रने सक्ने भन्दै स्थानीय प्रशासनले बिहीबार बेलुकासम्मका लागि निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।  

    आज दिनभर पानी परेको र लालबन्दीमा वार्ता समेत राखिएकाले बयलवास बजार क्षेत्रमा  कुनै पनि किसिमको प्रदर्शन भएन ।तर प्रदर्शन  हुनसक्ने भन्दै स्थानीय प्रशासनले भने बयलवास बजार क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ।


No comments:

Post a Comment