Monday, December 20, 2021

चिनी मिलले भुक्तनी रोकेपछि आर्थिक समस्या झेल्दै आएका सर्लाहीका किसान उखु खेती छाडेर व्यवसायीक तरकारी खेती गर्न थाले

 

------ तरकारी खेतीबाट आम्दानी राम्रो भएपछि  किसानहरु सन्तुष्ट -----



मनोज यादव----

सर्लाही ,पुस ५

     उखु खेतीको लागि पकेट क्षेत्र मानिने सर्लाहीको पश्चिमी भेगका  किसानहरु चिनी मिलले उखु बिक्री गरे वापतको भुक्तानी लामो समयदेखि रोकेर राखेपछि त्यस क्षेत्रका किसानहरु उखु खेती छाडेर व्यवसायी तरकारी खेती सुरु गरेका छन् । उधारोमा उखु बिक्री गरेर आर्थिक समस्या झेल्दै आएका किसानहरु अहिले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन्।

     जिल्लाको गोडैता नगरपालिका अन्तर्गतका गाउँका किसानहरु गएको केही सिजनदेखी सोही नगरपालिकाको बगदहमा रहेको महालक्ष्मी सुगर मिललाई उधारोमा  बिक्री गरेको उखुको भुक्तानी नपाए पछि पटकपटक जिल्ला आन्दोलन गरे। भुक्तानी गराइदिन भन्दै कयौंपटक काठमाडौ गएर सरकारलाई गुहार्दै माइतीघर मण्डलामा धर्नामा समेत बसे तर पनि भुक्तानी पाउने कुनै गुन्जाइस नदेखिए पछि बाध्य भएर उनीहरू व्यवसायीक तरकारी खेती सुरु गरेका हुन्। 

   उद्योगीले समयमा रकम भुक्तानी नगर्दा घरव्यवहार चलाउन निकै समस्या परेको  किसानहरुको गुनासो छ।उखु बिक्री गरे वापतको रकम भुक्ततानी पाउने आसमा साहु र बैंक सँग लिएको कर्जा तिर्न सकिएको छैन। उखु खेतीबाट आम्दानी गर्ने आशा मरेपछि बाध्य भएर तरकारी खेती सुरु गर्नु परेको किसानले दुखेसो पोखे ।




    कुनै समय उखु मात्र  रोपिएको खेतमा अहिले तरकारी मात्र रोपिएको देखिन्छ ।हुनेखाने र सम्पन्न  किसानले आफ्नै जग्गामा तरकारी लगाएका छन् भने अर्काको खेतमा ज्याला मजदुरी गर्दै आएका किसान गाउँकै जग्गावाला महाजन सँग  दुई चार कठ्ठा जग्गा भाडामा लिएरै भएपनि व्यावसायिक तरकारी खेती गरेका छन् ।उनीहरू  मौसमी तथा बेमौसमी दुबै खाले तरकारी खेती गर्दै आएका छन्।




    वर्षौंदेखि नगदेबालीको रुपमा उखु खेती गर्दै  किसानहरु तरकारी खेती तर्फ आकर्षिक भएको देखेर गोडैता नगरपालिकाले पनि किसानका लागि विभिन्न सुविधाहरु उपलब्ध गराउन थालेको छ ।पालिकाले समुहमा बोरिङ वितरणको गर्नुका साथै बिउबिजन ,मलखाध उपलब्ध गराएको छ ।उनीहरूले उत्पादन गरेको तरकारी जिल्ला भित्र मात्र नभइ जिल्ला बाहिर काठमाडौ , बिरगंज, नारायणगढ लगायतका सहरहरुमा निर्यात गर्ने गरेका छन् ।




     यस अघि उखु खेती गरेर श्रृणको भारी बोकेका किसान तरकारी खेतीबाट राम्रो आम्दानी भएको र केही हदसम्म साहुसँग लिएको श्रृण समेत तिर्न भ्याएकोले यसबाट आफुहरु पुर्ण सन्तुष्ट रहेको गोडैता नगरपालिका भगवतीपुरका किसान घनश्याम महतोले बताए ।‘‘गरे के हुदैन र ?,’’ पहिला गर्दै आएको उखु खेतीबाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी भएको उनले भने।

   विभिन्न उद्योगबाट गरेर अहिले पनि कृषकहरूले पाउनुपर्ने रकम करिब ६० करोडको हाराहारीमा रहेको छ ।सर्लाहीमा इन्दु शंकर चिनी उद्योग हरिवन बाहेक अन्नपूर्ण सुगर मिल धनकौल र महालक्ष्मी सुगर मिल बगदहले लामो समयदेखि किसानको भुक्तानी रोकेर राखेको छ ।

   अहिले किसानहरु खेतमा काउली, भ्यान्टा, बन्दा कोभी,मुला, खुर्सानी र आलु खेती लगाएका छन्।

No comments:

Post a Comment