Monday, December 6, 2021

सातवटै प्रदेशमा माटो परिक्षण केन्द्रको स्थापनाका लागि पहल गरिने




एसपी यादव----

ललितपुर, मंसिर १९ 

    कृषि बिभागद्वारा आइतबार आयोजित विश्व माटो दिवस २०७८ मूल समारोह कार्यक्रमका अवसरमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, सातवटै प्रदेशका किसानहरुलाई माटो परिक्षणमा सहज पहुँचका लागी सातवटै प्रदेशमा माटो परिक्षण केन्द्रको स्थापनाका लागि मन्त्रालयले आवश्यक पहल अगाडि बढाउने मन्त्री यादवले जनाएका छन् ।


माटोनै कृषिको आधार भएको बताउदै मन्त्री यादवले भने, माटो प्रकृतिको अमुल्य उपहार पनि हो । प्राङ्गारिक पदार्थ माटोको मुटु भएको र नेपालको खेती गरिने जमिनको ५३ प्रतिशत माटो अम्लिय प्रकृतिको भएको कारणले अम्लिय माटोमा बालिहरुको उत्पादन कम हुने गरेको उनले जनाए ।


माटो स्वस्थ रहनका लागि माटोमा रहने प्राङ्गारिक पदार्थको मात्रा ३ देखि ५ प्रतिशत हुन आवश्यक रहेको तर नेपालको माटोको प्राङ्गारिक पदार्थको मात्रा औसत १.९६ प्रतिशत रहेको छ । जसलाई ४ प्रतिशतमा पुर्याउने लक्ष्य कृषि विकास रणनीति मार्फत लिइएको मन्त्री यादवले जानकारी गराएका छन् ।


मन्त्री यादवका अनुसार, नेपाल सरकारबाट अम्लिय माटोको सुधारका लागि नेपालको माटोको स्थान विशेषको गुणस्तरको अवस्था देखाउन डिजिटल सोइल मैप तयार, प्राङ्गारिक मल प्रवर्द्धनका कार्यक्रम जस्तै गोठ सुधार, प्राङ्गारिक मलमा अनुदान तथा प्राङ्गारिक खेती प्रवर्द्धन, सन्तुलित मलखादको प्रयोगलाई बढावा दिने, माटोमा एकीकृत खाद्यतत्व व्यवस्थापन सम्बन्धि पाठशाला संचालन, माटो परिक्षण तथा अम्लिय माटो सुधारका लागि अनुदानमा कृषि चुन वितरण, प्रयोगशालाहरुको सेवा विस्तार तथा क्षमता विकास, एकीकृत खाद्यतत्व व्यवस्थापन तालिम तथा प्रविधि विस्तार, गड्यौले मल उत्पादन प्रविधि विस्तार, जिवाणु मल तथा हरियो मलको प्रवर्द्धन र रासायनिक मलको सुलभ उपलब्धता लगायतका प्रयासहरु हुदै आएको उनले जनाए ।


"माटोको अम्लियकरण रोकौं, माटोको उत्पादकत्व बढाऔं" भन्ने मुल नाराका साथ यस वर्षको आठौं विश्व माटो दिवस मनाइएको हो । विश्वभरमा डिसेम्बर ५ तारिकका दिन विश्व माटो दिवस मनाउने गरिन्छ । 


संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव प्रमुख अतिथि रहेका सो कार्यक्रमका विशिष्ट अतिथिका रुपमा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दगांल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव निरु दाहाल पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य डा. दिल बहादुर गुरुङ रहेका थिए । त्यसतै अतिथिका रुपमा नार्कका कार्यकारी निर्देशक डा. दिपक भण्डारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निजि सचीव डा. दिनेश कुमार यादव, राष्ट्रिय किसान आयोगका सद्स्यहरु र कृषक प्रतिनिधिहरु रहेका थिए ।


कार्यक्रमको अध्यक्षता कृषि विभागका नि. महानिर्देशक जानुका पण्डितले गरेकी थिइन् ।


सञ्चारकर्मी समेतको उपस्थिति रहेको सो कार्यक्रमको उद्घोषण भने कृषि विभागका माटो विज्ञ रजनिश मिश्रले गरेका थिए ।

No comments:

Post a Comment