Tuesday, December 21, 2021

एक सुत्रिय माग राखेर मलंगवा नगरपालिकाका बालविकास शिक्षिकाहरु आन्दोलित,५ महिनादेखि तलब नपाएको गुनासो

 


मनोज यादव---

सर्लाही,पुस ६

    सर्लाहीको मलंगवा  नगरपालिकामा बालबिकास  शिक्षिकाहरु धर्नामा बसेका छन् ।

सरकारले घोषणा गरे अनुसारको तलव नदिएको भन्दै उनीहरु आज(मंगलबार)बाट नगरपालिकाको कार्यालयको मुल गेट अगाडि धर्ना बसेका हुन् ।

   नगरपालिका अन्तर्गतका  विद्यालयमा कार्यरत रहेका बालविकासका शिक्षिकाहरुसँगै , कार्यालय सहयोगीहरु पनि धर्नामा सहभागी रहेका छन् ।

   सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुका लागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि हामीलाई सोही अनुरुप तलव नदिंदा धर्नामा बसेको बालविकाश संघर्ष समितिका अध्यक्ष अन्जना दासले बताइन् ।उनले ८ हजार केन्द्र सरकारले र ७ हजार स्थानीय सरकारलाई दिनुपर्ने व्यवस्था रहेको भएपनि नगरपालिकाले  गत साउन मसान्तदेखि नै तलब रोकेर राखेको जनाकारी दिइन् ।

     संघीय सरकारले घोषणा गरे बमोजिम नगरपालिकाले तलब उपलब्ध नगराइ आफुहरु माथि भेदभाव गरेको र बारम्बार तलबको लागि ताकेता गर्दा समेत कुनै सुनवाइ नभएपछि आफुहरुलाई आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका कोषाध्यक्ष रंजु कर्णले गुनासो गरिन्। उनले स्थानीय सरकारले तोके अनुसारका मासिक तलब उपलब्ध नगराएसम्म चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउँदै लैजाने  बताइन् ।

    बालबिकास  शिक्षिकाहरुको आन्दोलनमा शिक्षा क्षेत्र सँग आवद्ध विभिन्न संघसंगठनहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

No comments:

Post a Comment