Saturday, January 15, 2022

मस्जिद बनाउन वडा अध्यक्षले दिए निःशुल्क जग्गा

 





सोम दियाली---

सर्लाही,माघ १

     सर्लाहीको हरिवन नगरपालिका वडा न- ११ का मनकारी वडा अध्यक्ष शेख मेहबुव रेजाले मस्जिद निर्माणका लागि नगद ५ लाखसहित १२ धूर जमिन निःशुल्क दान गर्नुभएको छ । विगतदेखि नै सामाजिक कार्यहरुमा तन, मन र धनले सहयोग गर्दै आउनुभएका वडाअध्यक्ष रेजाले चलनचल्तीको मूल्य अनुसार ३० लाख मूल्य बराबरको जग्गा हरिवन ११ स्थित मुस्लिम बस्तीमा निर्माणाधीन बर्काती जामे मस्जिदको लागि निःशुल्क दान गर्नुभएको हो ।


वडाअध्यक्ष रेजाले शनिवार मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमका बीच जग्गाको लालपूर्जा मस्जिद निर्माण समितिलाई हस्तान्तरण गर्नुभएको छ । मुस्लिम समुदायको बाल्को बस्ती रहेको ठाउँमा पूराना मस्जिदहरुमा धार्मिक कार्य गर्न असहज भएको र नयाँ मस्जिद निर्माण गर्न जग्गा आवश्यक भएकोले आफूले धार्मिक कार्यका लागि भन्दै निःशुल्क जग्गादान गरेको वडाअध्यक्ष रेजाले बताउनुभयो । उहाँले वडावासीको चाहाना अनुसार आफूले सुरुदेखि नै विकास निर्माणको काममा ध्यान दिएको बताउनुभयो । ‘म उहाँहरुकै भोटले वडाअध्यक्ष भएको हुँ, उहाँहरुको आवश्यकतामा मैले साथा दिनु मेरो धर्म हो । त्यसमाथि मन्दिर मस्जिद जस्ता धार्मिक काममा म आगामी दिनमा पनि सहयोग गर्न तयार छु ।’ वडा अध्यक्ष रेजाले भन्नुभयो ।  


मस्जिद निर्माणका लागि वडा अध्यक्ष रेजाले १२ धूर जमिन र ५ लाख रुपैयाँ सहयोग गर्नुभएको जामे मन्दिर निर्माण समितिका अध्यक्ष शेख मुस्तफाले बताउनुभयो । उहाँका अनुसार वडाअध्यक्षले १२ धुर, स्थानीय मोहम्मद गनीले ५ धुर र अर्का रेहान नाम गरेका व्यक्तिले ३ धुर गरी कुल एक कठ्ठा जग्गा बर्काती जामे मस्जिदलाई प्राप्त भएको छ । वस्तीमा जनसंख्या बढ्दै जाँदा भएका मस्जिदहरुले अपुग भएको र नयाँ मस्जिदको आवश्यकता परेकोले आफूहरुले नयाँ मस्जिद निर्माण सुरु गरिरहेको बेला वडाअध्यक्ष रेजाले निःशुल्क दान गरेर वस्तीका मुस्लिम समुदायमाथि ठुलो गुण लगाउनुभएको निर्माण  समितिका अध्यक्ष मुस्तफाले बताउनुभयो ।


जग्गाको लालपूर्जा हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले वडा अध्यक्ष रेजाको सामाजिक कामहरु देखेर आफू अत्यन्तै खुशि भएको बताउनुभयो । उहाँले सामाजिक कामप्रति वडा अध्यक्ष रेजाले देखाएको विशाल हृदयका कारण नै वडामा उहाँको लोकप्रियता ह्वात्तै बढेको बताउनुभयो । ‘वडामा कोही भोकै भएपनि वडा अध्यक्ष, कसैले लाउन पाएन वडा अध्यक्ष, बाटो बनाउन, मन्दिर, मस्जिद बनाउन पनि वडाअध्यक्ष वडाका हरेक काममा वडावासीसँग तन, मन र धनले पनि नजिक भएर काम गर्ने वडाअध्यक्ष हरिवन ११ ले पाएको छ । यसर्थमा हरिवन ११ का वडावासी भाग्यमानी हुन् ।’ मेयर प्रसाईले भन्नुभयो ।


वडा अध्यक्ष रेजाको सामाजिक कामप्रतिको लगाव र झुकाव देखेर आफूहरु निकै प्रभावित भएको मुस्लिम धर्मगुरु मौलाना खलिकुज्माले बताउनुभयो । ‘हामी यति भाग्यमानी छौं कि, हाम्रा वडाअध्यक्ष भगवान जतिकै छन् । हामीलाई परेको जुनसुकै समस्या समाधान गर्नपनि उहाँ अघि सर्नुहुन्छ ।’, धर्मगुरु खलिकुज्माले भन्नुभयो । 


No comments:

Post a Comment