Monday, January 10, 2022

सर्लाही अन्तर्गत नेपाल भारत नाकामा विशेष सावधानी अपनाउने डी.सी.सी.एम.सी को निर्णय ,असावधानीले गर्दा स्थिति पुनः भयावह हुनसक्ने

 




मनोज यादव---

सर्लाही,पुस २६

     भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर व्यापक रुपमा फैलिन सुरु भइसकेकोले सर्लाही जिल्ला अन्तर्गतका नेपाल भारत सीमानाकाहरुमा  हेल्थ डेक्स राखेर भारतबाट आउने मानिसहरुको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइने भएको छ ।

   सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकबाट उक्त निर्णय भएको हो।

   बैठकमा भएको निर्णय अनुसार भारतसँग सीमा जोडिएका जिल्लाका सबै पालिकाका नाकाहरुमा हेल्थ डेक्स राखिने छ। ती हेल्थ डेक्सहरुमा भारततर्फबाट आउने मानिसहरुको ज्वरो परीक्षणसहित कोरोना भाइरसको संक्रमणको जस्तो लक्षण देखिए एन्टिजेन परिक्षण  समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभएको छ ।सम्बन्धित  पालिकाहरुले  आ–आफ्नो ठाउँमा हेल्थ डेक्स राख्नुपर्ने  निर्णय भएको प्रजिअ गौतमले बताउनुभयो ।सोही बैठकबाट कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्डको पालना गर्न आग्रहसहित जनचेतना जगाउन पालिका, स्वास्थ्य कार्यालय, प्रहरी प्रशासन लगायत सबै निकायले प्रचारप्रसार गर्ने, "तपाईको मास्क खोई ?" अभियान संचालन गर्ने लगायतका निर्णयहरु पनि गरिएको छ।

    उक्त बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह, नेपाल भारत सिमाक्षेत्र अन्तर्गत पर्ने विभिन्न पालिकाका पालिका प्रमुखहरु, जिल्ला समन्वय समितिका समन्वय अधिकारी होमनाथ सुवेदी, जिल्ला अस्पताल र जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झा, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवा, उद्योग वाणिज्य संघका प्रतिनिधि , चेम्बर अफ कमर्सका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

     तर सर्लाही जिल्लासँग जोडिएको  भारतको बिहार राज्यमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलिएपनि सीमा नाकाहरुमा अहिलेसम्म कुनै किसिमको सर्तकर्ता भने अपनाइएको छैन् ।मानिसहरु सतर्कता नअपनाइकनै निर्वाध रुपमा ओहोरदोहोर गरिरहेका छन् ।यसबाट पुनः स्थिति भयावह हुने देखिएको छ।


No comments:

Post a Comment