Tuesday, January 4, 2022

शितलहरबाट सर्लाहीको जनजीवन प्रभावित,शितलहर पिडितहरु द्वारा न्यानो कपडा तथा दाउरा उपलब्ध गराउन पालिकासँग माँग

 




मनोज यादव---

सर्लाही,पुस २०

   चिसो हावासँगै बाक्लो हुस्सु तथा शितलहरका कारण तराई मधेसका जिल्लासहित सर्लाहीको जनजीवन निकै कष्टकर बनेको छ ।

    केहीदिन अगाडी भएको वर्षासँगै चल्ने गरेको  चिसो हावाका कारण  अत्यधिक चिसो बढेर जनजिवन कष्टकर बन्दै गएको छ।बिहानदेखि नै घाम नलागेर मानिसहरु मात्र नभइ पशुचौपायाहरुलाई समेत समस्या भएको छ।  शितलहरसँगै अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई घरबाट निस्किन समस्या भएको छ ।अहिले जिल्लाभरीका हाट बजारहरु सुनसान बनेका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीहरुको संख्या पनि ह्वात्तै  घटेर गएको छ । विद्यालय तथा  कलेजमा विद्यार्थीहरुको उपस्थिति  पनि कम हुँदै गएको मलंगवाका एक निजी विद्यालयका संचालकले बताए ।

    बिहान लाग्ने बाक्लो कुहिरो र शितलहरका कारण सवारीसाधनहरु पनि कम चल्न थालेका छन् ।अत्याधिक चिसोका कारण दैनिक ज्यालादारी गर्ने मजदुरहरू पनि काममा निस्कन छाडेका छन् ।चिसोमा काम गरेर बिरामी पर्नु भन्दा घरमै बसेर ज्यान बचाउनु उपयुक्त लागेकोले आफुहरु काममा जान छाडेका छौं मलंगवा-२ निवासी मजदुर पुकार साहले बताए। ‘हामी मजदुरी गरेर खाने मान्छे शितलहरका कारण मजदुरी गर्न नसकेपछि दुई छाक टार्न समस्या भएको साहले भने । विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोले कठ्याग्रिएर बस्न बाध्य हुनुपरेको स्थानीय समाजसेवीहरुको भनाइ रहेको छ ।शितलहरबाट सबैभन्दा बढी अति विपन्न,दलित समुदायका सानासाना बालबालिका,वृद्धवृद्धा तथा बिरामीहरु प्रभावित हुने गरेकाले सम्बन्धित पालिकाले उनीहरूको लागि न्यानो कपडा, दाउरा उपलब्ध गराउनु पर्ने स्थानीय बुद्धिजीवीहरुले बताए ।

स्थानीय सरकारले चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीका लागि प्रदेश सरकारसँग  समन्वय गरेर जतिसक्दो चाँडो अगाडी बढ्नुपर्ने उनीहरूले सुझाव दिएका छन् ।  शितलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिनु पर्ने बुद्धिजीवीहरुको भनाइ छ।तर स्थानीय सरकार अहिलेसम्म  स्थानीय स्तरमा त्यस्तो सुविधा उपलब्ध नगराएको उनीहरूको आरोप छ ।

No comments:

Post a Comment