Wednesday, January 5, 2022

नगदे बाली भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रुपमा परिणत भइरहको उखु किसानहरुको गुनासो

 



---सर्लाहीमा उखुको मुल्य निर्धारण नहुँदै  धमाधम उखु काट्दै किसान---


मनोज यादव---

सर्लाही,पुस २१

     उखुको मुल्य निर्धारण हुन बाँकी नै छ , तर पनि सर्लाहीका किसानहरु खेतमा भएको उखु हटाएर  हिउँदे बाली लगाउन ढिलो भइसकेको भन्दै मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्न थालेका छन् ।

   उखुको मूल्य निर्धारण गर्न केही दिनअघि काठमाण्डाैमा सरकार ,उद्योगी र उखु किसानहरु बिच भएको त्रिपक्षीय छलफल विना निष्कर्ष टुङ्गेपछि अहिलेसम्म उखुको मूल्य निर्धारण हुन नसकेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताएका छन्।

किसानले यस सिजनका लागि उखुको मूल्य न्यूनतम प्रति–क्विन्टल ६ सय ८० रुपैयाँ पाउनुपर्ने भए पनि तत्कालका लागि ६ सय ४० रुपैयाँ मूल्य  कायम गरेर उद्योग संचालन गर्न सुझाव दिइएको अध्यक्ष मैनालीले बताउनुभयो । 

 उद्योगीले भने सरकारले पछि निर्धारण गरेको मूल्यमा उखु किसानलाई भुक्तानी गर्ने गरी उखु क्रसिङ गरिरहेको छ ।उखुको मूल्यमा सहमति जुट्न नसके पनि सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरी किसानलाई उखु ल्याउने चलान पुर्जी वितरण गर्न थालिसकेको छ । 

   किसानहरु उखुको मूल्य निर्धारण हुनु अगावै उद्योगलाई उधारोमा उखु बिक्री गरिरहेकाले पछि भुक्तानीमा समस्या पर्ने अध्यक्ष मैनालीले बताउनुभयो । विभिन्न उखु किसान सम्बद्ध संघ-संगठनहरु यस क्रसिङ सिजनका लागि उखुको मूल्य प्रति क्विन्टल ६ सय ८० रुपैयाँभन्दा माथि हुनुपर्ने र त्योभन्दा कम मूल्यमा सहमति गर्न नसकिने बताउँदै आएका छन् ।

    पुसको आधा महिना बितिसकेको र अधिकांश किसानको उखु खेतमै  सुक्ने अवस्था आएको र उखु बाली हटाएर हिउँदे बाली समेत लगाउने बेला भइसकेकोले मुल्य निर्धारण हुनु अगावै बाध्य भएर किसानहरु  आआफ्नो उखु काटेर उधारोमै भएपनि धमाधम मिलमा पठाउन थालेका छन् । 

 उखु हटाएर गहुँ बाली लगाउन ढिलो भइसकेकोले  सस्तोमा भएपनि उखु काटेर मिललाई बिक्री गरेको किसानहरुको भनाइ छ।

    गएकाे वर्ष सरकारले उखुको प्रति–क्विन्टल मूल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा कायम गरेको थियो । त्यसमा उद्योगीले चार सय ७१ रुपैयाँ २८ पैसा र सरकारले उखु किसानलाई अनुदान स्वरूप ६५ रुपैयाँ २८ पैसा भुक्तानी गरेको थियो । उखुको लागत मूल्य बढेकाले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ पुर्‍याउनुपर्ने किसानको माग छ । 

   सर्लाहीमा रहेका ३ वटा चिनी उद्योगहरु मध्ये हाल हरिवन नगरपालिका  स्थित इन्दुशंकर चिनी उद्योग संचालनमा रहेको छ भने गोडैता नगरपालिकाको बगदहस्थित महालक्ष्मी सुगर मिल पनि संचालनको अन्तिम तयारीमा रहेको बताइएको छ।जिल्लाको दक्षिण–पश्चिम क्षेत्र धनकौल गाउँपालिका स्थित अन्नपूर्ण सुगर मिल  यसवर्ष पनि संचालनमा नआउने सम्भावना बढेको बताइएको  छ।  किसानहरुले बिक्री गरेको उखुको भुक्तानी लामो समयदेखि रोकेर राखेका कारण  किसानहरूले उखु दिन छाडेपछि अन्नपूर्ण सुगर मिल २ क्रसिंङ सिजनभन्दा बढी समयदेखि बन्द रहेको छ।

   विगत लामो समयदेखि उद्योगलाई उखु बिक्री गरे वापतको भुक्तानी नपाउँदा आर्थिक समस्या झेल्दै आएका त्यस क्षेत्रका किसानहरु उखु खेती छाडेर व्यवसायीक तरकारी खेती सुरु गरेका छन् ।उधारोमा उखु बिक्री गरेर भुक्तानीको लागि उद्योगीको मुख ताक्नु र भुक्तानी नपाएपछि घरपरिवार छाडेर घरिघरी आन्दोलन गर्नु भन्दा व्यवसायीक तरकारी खेती गरेर नगदी व्यापार गर्नु राम्रो भएको र यसबाट आफुहरु सन्तुष्ट रहेको उनीहरुको भनाइ छ।

   गतवर्ष  हरिवन स्थित इन्दुशंकर चिनी उद्योगले २२ लाख १६ हजार क्विन्टल  र गोडैता नगरपालिकाका बगदह स्थित महालक्ष्मी सुगर मिल उद्योगले  ८ लाख ९० हजार क्विन्टल उखु क्रसिङ गरेको थियो। मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाही जिल्लामा यसवर्ष २५ हजार हेक्टरको हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ।

   उद्योगपति र सरकार दुवैपक्षले वर्षौंसम्म उखुको भुक्तानी उपलब्ध नगराउने प्रवृत्तिले गर्दा नगदे बाली भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रुपमा परिणत भइरहको उखु किसानहरुले गुनासो गरेका छन् ।


   


No comments:

Post a Comment