Tuesday, January 11, 2022

एमसिसी खारेजीको माग गर्दै राप्रपाले मनाए पृथ्वी जयन्ती

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,पुस २७

   राष्ट्रिय प्रजातन्त्र पार्टी सर्लाहीले जिल्लाको सदरमुकाम मलंगवामा ३०० औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको छ ।

    राप्रपाले पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एमसिसी खारेज, पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने ,हिंदु राष्ट्र कायम तथा राष्ट्रियताको लागि  सम्पूर्ण नेपाली एक हुनुपर्छ भन्ने मागहरु सम्बन्धि नारा लगाउँदै मंगलबार दवाब मुलक र्याली निकाली मलंगवा बजारको परिक्रमा गरेका छन् ।उक्त  र्याली वडा न-१० स्थित सहिद पार्कबाट सुरु गरि नगरको परिक्रमा गरेर पुनः सोही स्थानमा पुगि कोणसभामा परिणत भएको थियो ।उक्त कोणसभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।सम्बोधनको क्रममा नेताहरूले एमसिसी खारेजी गरिनुपर्ने , दिवसको अवसरमा दिंदै आएको बिदा कटौती नगरि पुनः सार्वजनिक बिदा दिनुपर्ने र हिंदु राष्ट्र कायम हुनुपर्ने मागहरु राखेका थिए ।

  पृथ्वी जयन्तीको अवसरमा उपस्थित महिलाहरुले देश टुक्रिन दिनु हुँदैन । राजसंस्थाले गरेको राम्रो कामको सम्मान गर्नुपर्छ भन्नेजस्ता अभिब्यक्ति समेत दिएका थिए।

    राप्रपा सर्लाहीका जिल्ला अध्यक्ष प्रभाकर सिंहको अध्यक्षयता तथा केन्द्रीय सदस्य शत्रुधन महासेठको प्रमुख आतिथ्यतामा आयोजना भएको कार्यक्रममा विशिष्ट अतिथि पुर्व सांसद राजेश्वरी देवी साह,रामजी चौधरीसहित सर्लाही  क्षेत्र न-४का अध्यक्ष राघवेन्द्र पाण्डे लगायत विभिन्न गाउँपालिकाका पार्टी अध्यक्ष तथा पार्टीसँग आबद्ध सयौं महिलाहरुको उपस्थिति रहेको थियो ।

   कार्यक्रममा जिल्ला कार्यसमिति सचिव टंक प्रसाद रिजाल र स.जि. क्षेत्र न-३ का अध्यक्ष संजय सहनीले स्वागत मन्तव्य दिएका थिए ।



No comments:

Post a Comment