Friday, July 1, 2022

खेतीको लागि सरकारले नेपालमा रासायनिक मल उपलब्ध नगराए पछि सिमापारीबाट ल्याउँदा नेपाली सुरक्षाकर्मीले ल्याउन नदिएको किसानहरुको गुनासो

 





मनोज यादव---

सर्लाही,असाढ १७

   सर्लाहीका किसानहरुलाई अहिले रोपाइँ गर्ने चटारो छ ।यस्तो बेला किसानहरुलाई मलको  आवश्यक परेको छ । तर धान रोपाइँ गरिरहेका किसानहरुले रासायनिक मल पाउन सकेका छैनन्। 

    कतिपय किसानहरुले रोपाइँ सुरु  गरिसकेका छन् भने कतिपय रोपाइँ गर्ने तयारीमा लागेका छन् । सिजनमै आएर रासायनिक मल नपाएपछि हुर्किसकेको बेर्ना सुक्ने चिन्ताले उनीहरूलाई सताएको छ।बेर्ना हुर्किएर रोप्ने अवस्थाको भए पनि मलको अभावमा किसानले रोपाइँ गर्न पाएका छैनन्। रोपिसकेको धान बालीको लागि अती आवश्यक रासायनिक मल आफ्नै देशमा बढी पैसा तिरेर भएपनि किन्न नपाए पछि बाध्य भएर भारतीय बजारबाट ल्याउनु परेको छ ।एकदुई बोरा मल साइकलमा बोकेर ल्याउँदा समेत नेपाल-भारत सिमानाकामा खटिएका नेपाली सुरक्षाकर्मीले ल्याउन  नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् ।

    रोपाइँ गर्ने तयारीमा रहेका किसानहरु धान रोप्दा चाहिने डीएपी मल जति कोशिश गर्दा पनि नपाएको गुनासो गरेका छन् । मल नहाली रोपाइँ गर्दा फसल राम्रो नहुने भएकोले समयमा रोपाइँ नगर्दा हुर्किसकेका बेर्नाहरु बिग्रिन थालेको उनीहरुले  दुःखेसो पोखेका छन् ।

     मलको लागि सहकारीमा जाँदा  आज आउँछ, भोलि आउँछ भन्ने  कर्मचारीहरुले आश्वासन सुन्दासुन्दै मलको लागि  सहकारीमा  धाउन थालेको महीना दिन भइसकेको छ तर अहिलेसम्म एक बोरा पनि पाउन सकेका छैनौं ,किसानले बताए ।

     नेपालमा मल नपाएपछि यहाँका किसानहरु भारतीय बजारमा गएर मल  ल्याउने गरेका छन् । भारतीय बजारमा  सहज रूपमा मल खरीद गर्न पाए पनि बोर्डरमा खटेका नेपाली सुरक्षाकर्मीले ल्याउनमा रोक लगाएको एक किसानले सुनाए।  उताका  सुरक्षाकर्मीले कुनै रोकटोक नगरेपनि  हाम्रै तिरको सुरक्षाकर्मीले रोक्ने गरेको उनले भने । जब हाम्रो सरकारले समयमा मल उपलब्ध गराउन सक्दैन भने कमसेकम  भारतबाट त ल्याउन दिनुपर्यो । सरकारले किसानलाई आवश्यक परेको बेला सहुलियत रुपमा मल खाध उपलब्ध गराउनु पर्यो या त भारतबाट ल्याउँदा सिमानाकामा कुनै किसिमको रोकटोक नगरी ल्याउन दिनुपर्यो किसानहरुले भने।

   ठूला ब्यापारीहरु सिमानाकामा खटिएका सुरक्षाकर्मीहरु तथा तिनका प्रमुखलाई  महिनावारी रुपमा मोटो रकम बुझाएर  ट्रक, ट्याक्टर लगायतका सवारीसाधनमा लोड गरेर बोराको बोरा मल खाध भारतबाट ल्याउँदा कुनै रोकटोक नगर्ने तर किसानले एकदुई बोरा साइकल अथवा टाउकोमा बोकेर ल्याउँदा पक्रेर मोटो रकम माग्ने र उनीहरूले मागेजतिको रकम नदिएको खण्डमा एक बोरा मल मात्रै रहेपनि भन्सारमा लगेर बुझाइदिने गरेको किसानहरुले गुनासो गरेका छन्।

    कृषि ज्ञान केन्द्र सर्लाहीका निमित्त प्रमुख एवं कृषि प्रसार अधिकृत कमलदेव प्रसाद कुशवाहाले रोपाइँ गर्ने सिजनमै आएर मलको अभाव हुने समस्या  एकदुई पटकपटको मात्र नभइ यो हरेक वर्षको समस्या रहेको बताए ।सर्लाहीमा झण्डै ४० देखि ४६ हजार हेक्टर जग्गामा  धानबाली हुने गरेको छ। जिल्लामा मल आपुर्ति गर्ने जिम्मा कृषि सामाग्री संस्थान र साल्ट ट्रेडिङले लिएको छ।कृषि सामाग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत मल आपुर्तिको जिम्मा लिएको छ।कृषि सामाग्रीले ६ सय १५ मेट्रिक टन डिएपी,३० मेट्रिक टन युरिया र साढे ३ मेट्रिक टन पोटास ल्याएको छ।त्यसैगरी साल्ट ट्रेडिङले ७ सय ४० मेट्रिक टन डिएपी र ८ सय ३३ मेट्रिक टन युरिया ल्याएको र उक्त मलहरु विवाद रहित तरिकाले क्षेत्रफलको हिसाबले पालिकाहरुमा वितरण गर्ने निर्णय भएको र सोही निर्णय अनुसार अहिले डिलरहरु मार्फत वितरण भइरहेको कृषि ज्ञान केन्द्र प्रमुख कुशवाहाले जानकारी गराउनुभयो ।तर हाल वितरण भइरहेको मल अपर्याप्त रहेकोले गर्दा जिल्लामा  मलको अभाव भएको उहाँले बताउनुभयो ।

   देशकै अन्न भण्डार मानिएको तराईमा मल खाधको अभावमा हजारौं बिगहा खेतियोग्य जमिन बाँझो बन्दै गएको छ।यहाँ किसानहरु खेतिपाती गर्न छाडेर अन्य बैकल्पिक रोजगार तर्फ लाग्न थालेका छन् ।जसले गर्दा हाम्रो देशमा अन्नको कमि हुँदै गएको छ। देशलाई यस्तो समस्या बाट जोगाउन र पलायन भइसकेका र पलायन हुने तयारीमा रहेका  किसानलाई कृषिकार्य तर्फ फर्काउन  सरकारले किसानको समस्या समाधान गर्न ठोस कदम चाल्नुपर्ने बुद्धिजीवीहरु बताउँछन् ।


No comments:

Post a Comment