Sunday, July 17, 2022

सडक र नाला बनाएर मात्र बजार सुन्दर र व्यवस्थित देखिने होइन पार्किङको पनि व्यवस्थापन गर्न जरुरी रहेको बुद्धिजीवीहरुको भनाइ

 





मनोज यादव---

सर्लाही,साउन १ गते

    भाडामा चल्ने साना सवारीहरुको अव्यवस्थित पार्किङले सर्लाहीको सदरमुकाम समेत रहेको मलंगवा नगरपालिकाको मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ। 

   सवारीहरुको बढ्दो चाप, कमजोर ट्राफिक व्यवस्थापन, जथाभावी पार्किङ्ग र आधा सडक छेकेर हुँदै आएको फुटपाथे व्यापारका कारण बजार क्षेत्रमा हिँड्ने पैदल यात्रुलाई समेत निकै समस्या हुँदै आएको छ ।

सडकमा पार्किङको समस्या त छँदैछ, पैदल यात्रु हिँड्ने सडकको छेउमा समेत साइकल, मोटरसाइकल,जिप लगायतका सवारीसाधनहरुको जथाभावी  पार्किङ, ठेलाको ब्यापार आदि कारणले गर्दा असहज बनेको छ।

   सबैभन्दा बढी समस्या मलंगवा स्थित बसपार्क क्षेत्रमा देखिएको छ।नवलपुर-मलंगवा रुटमा चल्ने साना म्याजिक तथा टेम्पुका चालकहरु पार्किङ गर्ने स्थान नपाएर सडकको छेउमा लामबद्ध रुपमा आफ्ना सवारी पार्किङ गरेर दिनहुँजसो सडक जामको समस्या उत्पन्न गराउँदै आएका छन् ।

विशेषतः मलंगवा-९ स्थित बाबास्वामी मठ(मुर्ली पोखरी)देखि नेपाल बैंकसम्मको भित्रि सडकमा अहिले जथाभावी पार्किङको समस्या छ ।

     सो सडक अन्तर्गत बैंक तथा पसलको लागि घर भाडामा लगाउन जानेका तर पार्किङ्गको व्यवस्था नगरेका घरधनीहरूलाई यसले कुनै प्रभाव पारेको छैन ।मलंगवा नगरपालिकाले यसको समाधानको लागि कुनै पहल गरेको छैन । सरोकारवाला निकायका पदाधिकारीहरु स्वयं पनि अव्यवस्थित सवारी पार्किङका कारण समस्यामा परिसकेका छन् र परिसमेत रहेका छन् तर पनि यसको समाधानका लागि कुनै पहल गर्न सकेका छैनन्,मलंगवाका एक स्थानीय बुद्धिजीवीले गुनासो गरे।  

   बिहानदेखि राति अबेरसम्म छाडा छाडिएका पशु चौपायाहरू पनि उत्तिकै सडकमा देखिन्छन् । घरपालुवा पशु चौपायादेखि फोहरको डंगुरमा आहारा खोज्दै हिंड्ने सुंगुरहरु जथाभावी बजारमा हिंड्डुल गरेको देखिन्छन् ।जसले गर्दा बजारमा पटकपटक दुर्घटनाहरु समेत भइसकेका छन्।तरपनि नगरपालिका मुकदर्शक बनेर बसेको छ,मलंगवाकै अर्का एक ब्यापारीले भने।

   सडकमा ब्यापार गर्नेहरु पनि उत्तिकै छन् । अझै यही क्षेत्रमा बढी सेवाग्राही आउने कार्यालय एवम् बैँक तथा वित्तीय संस्थाहरूले कार्यालय संचालन गरेपछि झन् समस्या थपिएको छ ।

मलंगवामा १ दर्जन भन्दा बढी साना ठूला बैंकहरु छन् । ती बैंकहरुमा प्रायः  पार्किङ सुविधा छैन । नियमतः बैंक भाडामा बस्ने घरमा पार्किङको सुविधा हुनुपर्ने व्यवस्था भए पनि यहाँका अधिकांश बैंकहरुले सडकलाई नै पार्किङ ठान्ने गरेका छन् ।

   यिनै समस्याहरुका कारण मलंगवा  बजार अव्यवस्थित बन्दै गएपछि  सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । 

मलंगवा बजार यति धेरै अस्तव्यस्त बन्नुमा पार्किङ्गको असुविधा प्रमुख कारण रहेकोले सडक निर्माण र नाला सफा गरेर मात्र हुँदैन ,बजारलाई समेत कसरी व्यवस्थित बनाउन सकिन्छ त्यसतर्फ पनि नगरपालिकाको ध्यान दिन जरुरी रहेको बुद्धिजीवीहरुको भनाइ छ।



No comments:

Post a Comment