Monday, July 11, 2022

भ्रामक समाचार प्रकाशित गरेर कृषि मन्त्री यादवलाई सुनियोजित रुपले बदनाम गर्ने काम भयो :सत्यप्रकाश यादव, प्रेस सल्लाहकार

 



लोकतन्त्र समाचारदाता---

काठमाडौ, असार २७ 

   गत असार २६ गते आइतबारका दिन गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित "मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा" शिर्षकको समाचार प्रति निवर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।उहाँका प्रेस सल्लाहकार सत्य प्रकाश यादवले, एउटा केन्द्रीय मन्त्री जस्तो गरिमामय पदमा रहनु भएका मन्त्रीको मान प्रतिष्ठामा आँच आउने खालको समाचार सम्प्रेषण गरेर सरकारी राष्ट्रिय दैनिक पत्रिका  गोरखापत्रले सम्पूर्ण प्रेस जगतको बदनाम गर्न खोजेको भन्दै आपत्ती जनाएको छ । प्रेस सल्लाहकार यादवले उक्त समाचार भ्रामक भएको बताएको छ ।

    गोरखापत्रमा  प्रकाशित उक्त समाचारमा निवर्तमान मन्त्री यादवले पुल्चोकस्थित मन्त्री निवास छाड्दा वासिङ्ग मेसिन लगायत अन्य सामानहरु लिएर जानुभएको भनि तथ्यहिन र भ्रामक प्रचार गरिएको तर असार २५ गते शनिबारका दिन मन्त्री यादवको निवासमा भौतिक व्यवस्थापनका सम्पुर्ण सामानहरु ठिक दुरुस्त भएकोले बुझबुझारतको काम संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका कर्मचारीको रोहवरमा दुईतर्फी हस्ताक्षरमा भइसकेको प्रेस सल्लाहकार यादवले जानकारी गराए।उनले, सुनियोजित रुपमा उहाँलाई  बदनाम गर्ने नियतले संचार माध्यममा आएको उक्त  समाचार प्रति सचिवालयको घोर आपत्ती रहेको बताए ।

    संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरन, लैनचौरले आइतबार ध्यानाकर्षण पत्र जारि गर्दै २०७९ असार २६ गतेको गोरखापत्र राष्ट्रिय दैनिकमा "मन्त्री क्वार्टरका सामान पुर्वमन्त्रीका घरमा" भनेर प्रकाशित समाचार सन्दर्भमा यस कार्यालयको ध्यानाकर्षण भएको बताउदै उक्त  समाचारको खण्डन गरेको छ ।

  कार्यालयको ध्यानाकर्षण पत्रमा उक्त समाचारपत्रले निवर्तमान कृषि मन्त्रीको प्रतिष्ठा माथि पर्न गएको असर प्रति क्षमायाचना समेत मागेको प्रेस सल्लाहकार यादवले जानकारी गराएको छ । मन्त्री निवासमा कार्यालयले दिएको सेवा सुविधा गत असार २५ गते शनिबार नै बुझबुझारत गरि चुस्त दुरुस्त हालतमा रहेको व्यहोरा समेत ध्यानाकर्षण पत्र मार्फत  जानकारी गराइएको  छ ।

      यथार्थ नबुझी समाचार प्रकाशित गरेकोले गोरखापत्र प्रति कार्यालयले घोर आपत्ति  जनाएको छ ।



No comments:

Post a Comment