Sunday, July 17, 2022

कबिलासीसहित सर्लाहीका आधा दर्जन भन्दा बढी स्थानीय तहका करार सेवाका कर्मचारीहरु हटाइएपछि आन्दोलित



--- निर्णय सच्याउनुपर्ने माग---


मनोज यादव---

सर्लाही,साउन १

       म्याद थप तथा करार नविकरण नहुने भनि निर्णय भएको प्रति असन्तुष्टि जनाउँदै सो निर्णयको विरोध गर्दै कबिलासी नगरपालिकामा कार्यरत करार सेवाका कर्मचारीहरुले आइतवार जिल्ला समन्वय समिति सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा ज्ञापनपत्र बुझाएका छन् ।

    कबिलासी नपा नगरकार्यपालिकाको गत असाढ १२ गते बसेको बैठकमा करार सेवामा कार्यरत कर्मचारीहरु मध्ये सूचना प्रविधि अधिकृत,एम.आइ.एस. अपरेटर,फिल्ड सहायक, लघु उद्यम विकास सहजकर्ता,प्रधानमन्त्री रोजगार अधिकृत,ना.प्रा.स र वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी बाहेक सम्पूर्ण करार सेवाका कर्मचारीहरुको साउन(आज)१ गते देखि म्याद थप तथा करार नविकरण नहुने भनि भएको निर्णयले कार्यरत अस्थायी करार सेवाका कर्मचारीहरु प्रति अन्याय भएकोले सोको ध्यानाकर्षण गराउन जिसस प्रमुख कौशल सिंह र सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको अखिल नेपाल अस्थायी,करार ज्यालादारी कर्मचारी श्रमिक संघ इकाई कमिटी कबिलासी नपाका अध्यक्ष गगनदेव राउतले बताए ।

उनले,एकै पालिकामा कार्यरत कुनै करार सेवाका कर्मचारीलाई राख्ने कुनैलाई हटाउने खालको फरक व्यवहार र निर्णय प्रति आफुहरुको घोर आपत्ति रहेकोले कुनै कर्मचारीलाई हटाउने वा राख्ने निजको कार्यसम्पादन  मुल्यांकनको आधारमा हुनुपर्छ र हुन्छ पनि तर कबिलासी नपामा यस्तो भएको नदेखिएको बताउँदै गुनासो गरे।   

    आइतवार दिउँसो मलंगवा स्थित जिसस, जिल्ला प्रसाशन,कर्मचारी मिलन केन्द्र सर्लाही ,जिल्ला प्रहरी ,सशस्त्र प्रहरी बल अगर्वा र कबिलासी नपामा ज्ञापनपत्र बुझाइसकेपछि पिडित करार सेवाका कर्मचारीहरुले, एकै प्रकृतिको कर्मचारी हुँदाहुँदै पनि यस्तो किसिमको विभेद र निर्णय प्रति आफुहरुको घोर आपत्ति रहेकोले उक्त विभेदको अन्त्य गरि २०७९ असाढ १२ गते भएको कार्यपालिकाको बैठकको निर्णय सच्याउनु पर्ने हामी पिडित करार सेवाका कर्मचारीहरुको माग रहेकोले हाम्रो मागप्रति पालिका उदासिन बनेको खण्डमा साउन २ गते सोमबारदेखि आफुहरु चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्न वाध्य हुने भनी कडा रुपमा चेतावनी दिएका छन् ।

   आफुहरुको माग अनुसार कार्यपालिकाको उक्त निर्णय नसच्चाइएको खण्डमा साउन २ गते सोमबार १०:३० बजेदेखि दिउँसो २ बजेसम्म सामुहिक धर्ना,३ गते मंगलबार हातमा कालोपट्टी बाँधेर २ घण्टा धर्ना,४ गते दिउँसो २ बजे पत्रकार सम्मेलन र ६ गते नगरपालिका परिसरमा संघ संगठन लगायत अन्य कर्मचारीहरुबाट प्रतिबद्धता जाहेर गराउने लगायतका आन्दोलन चरणबद्ध रुपमा गर्ने  इकाई कमिटी कबिलासी नपाका अध्यक्ष राउतले जानकारी गराए।

   यस्तै खालको निर्णय सर्लाहीका  आधा दर्जन भन्दा बढी स्थानीय तहहरुले पनि गरेकाले त्यहाँ कार्यरत  करार सेवाका कर्मचारीहरुले पनि उक्त निर्णय प्रति आपत्ती जनाउँदै सो निर्णय सच्याउनुपर्ने माग राखेर सरोकारवाला निकायहरुलाई ज्ञापनपत्र बुझाएका छन् ।


No comments:

Post a Comment