Saturday, July 23, 2022

विष्णु गाउँपालिकामा लागुऔषधको रुपमा प्रयोग हुने खैरो हिरोईनसहित एक युवक पक्राउ

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ७

     सशस्त्र प्रहरीले नेपाल-भारत सीमा अन्तर्गत सर्लाहीको विष्णु गाउँपालिका वडा न-१ स्थित बाराउधोरण गाउँबाट   लागूऔषधको रुपमा प्रयोग हुने खैरो हिरोईनसहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्लाकै बागमती  नगरपालिका वडा न-१० का २३ वर्षीय सुमन विक रहेको प्रहरीले जनाएको छ।

       बिकलाई बुधबार राति साढे ११ बजेको समयमा भारतको मेजरगंजतर्फबाट  प्रदेश २-०३-००६ प ३७५१ नम्बरको मोटरसाइकलमा नेपाल(सर्लाही)को बाराउद्योरण गाउँतर्फ आउँदै गरेको अवस्थामा बोडर्र आउट पोष्ट बाराबाट खटिएका सशस्त्र प्रहरीको टोलीले रोकेर खानतलासी गर्दा निजको साथबाट ५ ग्राम २ सय ७० मिलिग्राम खैरो हिरोईनसहित स्रोत नखुलेको १७ लाख ८२ हजार ५ सय रुपैयाँ र ३ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले बताए।

  सशस्त्र प्रहरीले पक्राउ परेका विकलाई लागुऔषध र निजले प्रयोग गरेको मोटरसाइकल सहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ भने श्रोत नखुलेको रकम भन्सार कार्यालय मलंगवामा बुझाएको प्रहरीले जनाएको छ ।

   त्यस्तै बिहिवार प्रहरीले जिल्लाको चन्द्रनगर गाउँपालिका वडा न-२ बबरगंजबाट स्थानीय ५३ वर्षीय तुलसी साहलाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ।

     बबरगंज स्थित निजको घरमा लागुऔषध गाँजाको किनबेच भइरहेको छ भन्ने प्राप्त सूचनाको आधारमा गएका प्रहरी टोलीले साहको घरको खानतलासी गर्दा प्लास्टिकको बाल्टिनमा लुकाइछिपाई राखेको २२ पुरिया(७० ग्राम) गाँजा बरामद गरि निजलाई बरामद गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

    साउन महिनामा  भोलेबाबाको परसादको रुपमा गाँजा र भाँगको बढी प्रयोग हुने भएकोले गाउँगाउँमा  लुकाइछिपाइ यसको कारोबार हुने गरेको छ।गाउँघरमा संचालित साना,ठुला पसलहरुमा मात्र नभइ घरघरबाट यसको बिक्रीवितरण हुने गरेकोले प्रहरीले यसप्रति सुक्ष्म रुपमा निगरानी बढाउनुपर्ने स्थानीय बुद्धिजीवीहरुले सुझाव दिएका छन् ।





No comments:

Post a Comment