Sunday, July 31, 2022

मलंगवाको वडा न-२ मा जमेको पानीलाई निकास दिन अस्थायी नाला खनियो

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन १५

    लगातारको बर्षाले मलंगवा नगरपालिका वडा न-२ स्थित केही  घरहरुमा पानी पसेपछि तत्काल पानीको निकास गर्नको लागि वडाअध्यक्ष धिरेन्द्र साहको पहलमा नाला खन्ने काम भएको छ।

   राजश्री सिनेमा हलदेखि पश्चिमतर्फको पब्लिक स्कुल(झण्डा बजार)सम्मको सडक छेउका घरधनीहरु सामान्य वर्षा हुँदा समेत घरको कम्पाउण्डमा पानी जमेर  घरभित्र पानी पस्ने समस्याबाट पिडित रहँदै आएका थिए। अस्थायी रुपमै भएपनि नाला खनेर जमेको पानीलाई निकास दिएकोमा स्थानीयबासीहरुलाई केही राहत भएको छ।

    यो सडक हुलाकी राजमार्ग अन्तर्गत पर्ने भएकोले यसमा सडक निर्माण र नाला निर्माण गर्ने जिम्मेवारी हुलाकी राजमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको रहेको भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण निर्माणकार्यमा बारम्बार अवरोध भइरहेको छ।हुलाकी सडकसँगै नाला पनि बन्ने आसमा  स्थानीयबासीहरु घर भित्र पानी जम्ने समस्याबाट पिडित बन्दै आइरहेका छन्।

    पानी जम्ने समस्या मलंगवा वडा न-२ को मात्र नभइ अन्य वडाहरुको पनि छ। नालाको उचित व्यवस्थापनको अभावमा मलंगवाका अधिकांश वडाका घरहरुमा अहिले पानी जमेको छ।  

   वर्षाले मलंगवाको प्रायः सडकहरु  जलमग्न र हिलाम्य भएको छ ।  समान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । सडकमा पानी जमेर हिलाम्य हुँदा पैदल हिँडडुल गर्न समेत कठिनाई भएको छ ।

    पटक पटक यस्ता समस्याहरुबाट मलंगवा नपा वडा न-२ का वडाबासीहरु आजित भएपछि तत्काल  समस्याको समाधान गर्न आइवार उक्त सडकको छेउमा अस्थायी नाला खनिएको वडाध्यक्ष साहले बताए ।

    तत्कालकै लागि भएपनि नाला खन्न लगाइ पानीलाई निकास दिएर राम्रो काम गरेको भन्दै स्थानीयहरुले वडाध्यक्ष साहलाई धन्यवाद दिएका छन् ।

No comments:

Post a Comment