Monday, July 25, 2022

दाइजोका कारण सर्लाहीमा एक विवाहिताको हत्या

 

 ---श्रीमान,देवर र ससुरा पक्राउ---

लोकतन्त्र समाचारदाता---

सर्लाही,साउन ९

     दाइजो नल्याएको निहुँमा सर्लाहीमा एक महिलाको आफ्नै श्रीमान,ससुरा र देवर मिलेर हत्या गरेको छ।

     प्रहरीले नेपाल-भारत सिमा नजिक पर्ने  जिल्लाको पर्सा गाउँपालिका वडा न-१ शितलपुर निवासी बालदत्त भन्ने रमजेश कुमार रायले, बुवा राम प्रताप राय र भाइ राजु यादवसँग मिलेर श्रीमती २० वर्षीया निशा यादवको हत्या गरेको  आरोपमा पक्राउ गरेको छ।मृतक निशाको शव हत्या भएको ४८ दिनपछि आफ्नो घर देखि करिव ४ कि.मि.पूर्व उत्तर तर्फ रहेको आफ्नै खेतमा खाल्डो खनी गाडिएको  अवस्थामा फेला परेको थियो।

    महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नं. ६ मगरथाना बस्ने निशाको वुवा कैलाश रायले गत जेठ २३ गते आफ्नै(श्रीमानको)घरबाट छोरी हराएकोले खोजतलास गरिदिन भनि प्रहरीलाई दिएको निवेदनको  भोली पल्ट निशाका ससुरा राम प्रतापले पनि बुहारी हराएको भनी निवेदन दिएका थिए ।

     सोही निवेदको अधारमा प्रविधियूक्त बिश्लेषण गर्ने क्रममा निशा यादवको घर परिवारको सदस्यहरु उपर शंका लागि श्रीमान  रमजेश , ससुरा राम प्रताप र देवर राजु सँग घटनाको सम्बन्धमा वास्तविकता बुझ्ने क्रममा उनीहरूले  निशाको हत्या गरेको स्विाकारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी बिजय यादवले जानकारी दिए ।

   मृतक निशाको बुवा कैलाशका अनुसार आफ्नी २० वर्षीया छोरी निशा र २५ वर्षीय रमजेशको हिन्दु रितिरिवाज अनुसार मागी विवाह भएको थियो । विवाहको केही महिना नबित्दै  दाइजो नल्याएको निहुँमा पटक पटक मानसिक तथा शाररीक यातना दिंदै आएको उनले बताए ।

   निशा मृत्यु हुनु भन्दा केहि दिन अगाडी माइतीघर मगरथाना आएकी थिइन । छोरीलाई केहि दिन माइतीमै बस्न दिनुस् भनि ज्वाईंसँग आग्रह गर्दा नपठाए अर्को विवाह गर्छु भनी धम्काएर आफुसँगै लगेको बुवा कैलाशले बताए ।

   निशाको हत्याको आरोपमा पक्राउ परेका ज्वाँइ,निजको बुवा र भाइनै दोषी रहेको दाबी गर्दै उनीहरूलाई हदैसम्मको कार्यवाही गर्न बुवा कैलाशले प्रहरीसँग आग्रह गरेको छ।

    

No comments:

Post a Comment