Tuesday, July 12, 2022

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सुरु गर्यो आयुर्वेद स्वास्थ्य सेवा

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २८

   एलोपेथिक  स्वास्थ्य सेवा मात्र उपलब्ध गराउँदै आएको सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज (मंगलबार)बाट पहिलोपटक आयुर्वेद स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको सुरुवात गरेको  छ ।

    मधेश प्रदेश सरकार, आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा कार्यालयको सहयोगमा  नागरिक आरोग्य सेवा केन्द्र मार्फत आफ्ना जनताहरुलाई नियमित रुपमा आयुर्वेद स्वास्थ्य प्रदान गर्ने चन्द्रनगर गापाले बताएको छ।

    आयुर्वेद सेवा प्रदान गर्न चन्द्रनगर गापाको वडा न-४ पोखरियामा स्थापना गरिएको केन्द्रको आज जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सर्लाही, मलंगवाका प्रमुख डा. नन्द किशोर कुशवाहाको अध्यक्षतामा आयोजना गरिएको एक कार्यक्रमका बिच  गापा अध्यक्ष राजकुमार महतोले उद्घाटन गर्नुभएको छ। 

   एक जना बैध र एक जना कार्यालय सहायकबाट सुरु गरिएको यस केन्द्रबाट स्थानीयहरुले निःशुल्क रुपमा औषोधपचार सेवा पाउने छन् । यस केन्द्रमा थेरापी तथा योग सेवा समेत संचालनमा  ल्याइने बताइएको छ।

    जिल्लाभरी आफ्नो सेवाको विस्तार गर्ने क्रममा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलंगवाले सोही अन्तर्गत चन्द्रनगर गापामा सेवा सुरु गरेको प्रमुख डा.कुशवाहाले बताउनुभयो।

No comments:

Post a Comment