Sunday, July 10, 2022

सर्लाहीका मुस्लिम धर्मावलम्बीहरु आज बकरीद पर्व मनाउँदै

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,असाढ २६

    मुस्लिम धर्मावलम्बीकोे महान पर्व बकरीद (ईद उल अजहा) आइतवार हर्षोल्लासका मनाइँदै छ । रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो पर्वको रुपमा रहेको बकरिद सर्लाही जिल्ला अन्तर्गत मुस्लिम धर्मावलम्बीहरुको बसोबास रहेको ठाउँहरुमा आज(आइतवार)एक आपसमा शुभकामना आदानप्रदान गर्दै धुमधामका साथ मनाइँदै छ  । यस पर्वमा अल्लालाई खुशी पार्न  जनावरको कुर्बानी (बली) दिने गरिन्छ।

   आज(आइतवार)जिल्लाको सदरमुकाम मलंगवासहित मुस्लिम धर्मावलम्बीहरुको बसोबास रहेको खुटौना,भाँडसर,कौडेना गाउँपालिकाको शिवनगर,चक्रघट्टा गापाको सुन्दरपुर, हरिपुर नगरपालिकाको लक्ष्मीपुर,ब्रह्मपुरी गापाको त्रिभुवननगर लगायतका ठाउँहरुमा बकरिद पर्व मनाइँदै छ।

   धार्मिक मान्यताअनुसार अल्लाका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग(जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

   निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएन । अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन, त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बानी(बलि) भएको थियो ।

    कुर्बानीको मासु तीन भाग लगाएर  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई ,एक भाग आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता रहिआएको  छ । 

   रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिक रुपमा सम्पन्न  मानिसहरु हज गर्न साउदी अरबको मक्का मदिना जाने गरेका छन् ।

No comments:

Post a Comment