Tuesday, July 5, 2022

सर्लाहीमा महिलाको जनसंख्या घट्ने मुख्य कारण असुरक्षित गर्भपतन पनि रहेको महिला अधिकारकर्मीको भनाइ

 


 


मनोज यादव---

सर्लाही,असाढ २१

   हालै सम्पन्न राष्ट्रिय जनगणना अनुसार नेपालमा पुरूषभन्दा महिलाको जनसंख्या बढेको भए छ ।केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार नेपालमा महिलाको जनसंख्या बढेपनि सर्लाहीमा भने महिलाको जनसङ्ख्या घटेको पाइएको छ।  

   केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजा अनुसार सर्लाही जिल्लामा पुरुषभन्दा महिलाको जनसंख्या ९ हजार ४०४ ले घटी रहेको छ। सर्लाहीको कुल जनसंख्या ८लाख ५७ हजार ३६० मध्ये पुरुषको जनसंख्या ४ लाख ३३ हजार ३८२ र महिलाको जनसंख्या ४ लाख २३ हजार ९७८ रहेको छ। 

    सर्लाहीमा रहेको  २० वटा स्थानीय तहहरुको जनसंख्याको नतिजा समुदाय स्तरमा पनि फरक पाइएको छ। जिल्लामा  पहाडी समुदायको बाहुल्यता रहेको बाग्मती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको छ भने मधेशी समुदायको बाहुल्यता रहेको पालिकाहरुमा  महिलाको जनसंख्या घटेको पाइएको केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक नतिजामा उल्लेख गरिएको छ। 

    यसअघि भएको २०६८ सालमा भएको राष्ट्रिय जनगणनामा सर्लाही जिल्लाभरीको कुल जनसंख्या ७ लाख ६९ हजार ७२९ रहेको थियो। तीमध्ये पुरूषको जनसंख्या तीन लाख ८९ हजार ७५६(५१ प्रतिशत) र महिलाको जनसंख्या ३ लाख ७९ हजार ९७३  (४९ प्रतिशत) रहेको थियो। 

    जिल्लामा महिलाको जनसंख्या घट्नुको मुख्य कारण छोरी भन्दा छोराको बढी चाहना हुनु र दाइजो  प्रथालगायत रहेको जानकारहरु बताउँछन् ।छोराको चाहना राख्ने मध्यमवर्गीय परिवारहरु  गैरकानुनी रुपमा लिंगको पहिचान गरी।गर्भपतन गराउने प्रवृत्तिका कारण पनि  महिलाहरुको जनसंख्या घट्दै गएको जानकारहरुको भनाइ छ।

   तराईका जिल्लाहरुमा कम उमेरमा छोरीको बिवाह गरिदिने चलन रहँदै आएको छ। कम उमेरमा बिवाह गरेपछि बच्चा पनि कमै उमेरमा जन्माउने,लिंगको पहिचान गरि गर्भपतन गराउने लगायतका कारण  महिलाको स्वास्थ्यमा गम्भीर समस्या  देखिने गरेको छ,जसले गर्दा उनीहरूको ज्यान समेत जाने गरेकोले गर्दा पनि महिलाको जनसंख्या कम हुँदै गएको रिपोर्टस क्लब नेपाल मधेश प्रदेशका अध्यक्ष बख्तियार अलीको  भनाइ छ।`मधेसी समुदायमा सकेसम्म छोराको नै जन्म होस् भन्ने चाहना पनि हुन्छ । त्यसकारण पनि छोरी भए भ्रूण हत्या हुने गरेको देखिन्छ’, उनले भने।

  लिङ्गको पहिचान गरी भ्रूण हत्या, दहेज नामक कुप्रथा र घरेलु हिंसालगायतका कारण पनि सर्लाहीमा महिलाहरुको जनसंख्या घट्दै गइरहेको महिला अधिकारकर्मी दिवानी धिमिरेले बताए। जिल्लामा अहिले लिङ्गका आधारमा गर्भपतन गराउने कार्य बढेको छ।यहाँका अधिकांश निजी अस्पताल तथा क्लिनिक हरुले सुरक्षित गर्भपतनको अधिकारको दुरुपयोग गर्दै असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ।यस्ता कार्य राती १०/११ बजेपछि हुने गरेको श्रोतले जानकारी दिएको छ।त्यस्ता निजी अस्पताल तथा क्लिनिकहरुमा राती छड्के रुपमा अनुगमन गरे दर्जनौंको संख्यामा गैरकानुनी गर्भपतनको घटना फेला पर्ने श्रोतको दावी छ।

    निजी अस्पतालहरुले लिंगको पहिचान गरि गर्भपतन गराउने कार्यलाई पैसा कमाउने धन्दा बनाएकाले सरोकारवाला निकायले यसको तत्कालै अनुगमन गर्नुपर्ने देखिन्छ। 

No comments:

Post a Comment