Tuesday, July 21, 2020

झिम नदीमा कटान सूरु,मलंगवा सहित दर्जनौ गाउँ उच्च जोखिममा



सर्लाही ,साउन ६
    तिनदिन देखि लगातार परेको वर्षाका कारण सर्लाहीको उत्तर-पश्चिम र दक्षिणी क्षेत्रका गाउँका  तीन दर्जन भन्दाबढी घरहरु डुबानमा परेका छन्। जिल्लाको सदरमुकाम मलंगवा सहित उत्तरी क्षेत्रको लालबन्दी र चक्रघट्टाका ४६ घर डुबानमा परेका छन् भने २६५ मानिसहरु विस्थापित भएका छन्।
    त्यस्तै सयौं  बिघामा लगाइएको धानखेती पनि डुबानमा परेको छ। पछिल्लो ३ दिनदेखि आएको अविरल वर्षाको कारण सदरमुकाम मलंगवा नगरपालिकाको भाडँसरमा २७ वटा घरमा पानी पसेर १४७ जना विस्थापित भएका छन् ।त्यस्तै लालबन्दी नगरपालिका वडा न-४ जर्वापानी खोलाको छेउमा बस्ने स्थानीय रवीन्द्र चौधरीको घरमा पानी पसेको छ ।घरमा पानी पसेर चौधरीको परिवारका ७ जना सदस्यहरु विस्थापित बनेका छन् ।यस्तै चक्रघट्टा गापा वडा न-५ पडरियामा १८ जनाको घरमा ढंग्रा खोलाको पानी पसेर १०१ जना विस्थापित भएका छन् ।विस्थापितहरु मध्ये केही छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने केहीलाई सम्बन्धित पालिकाले व्यवस्था गरिदिएको स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
   तिनदिन देखिको अविरल वर्षाका कारण सर्लाहीको सदरमुकाम मलंगवा छेउ भएर बग्ने झिम खोलामा एक्कासी  पानीको बहाव बढेको छ । मलंगवाको पूर्व भएर बग्ने झिम खोलामा पानीको बहाव बढेर बाँध भत्काएको छ। बाँध भत्किएपछि झिम खोला छेउछाउका स्थानहरु  जलमग्न बनेको भने दर्जनौं गाउँ डुबानको जोखिममा परेका छन् ।
मलंगवा र ब्रम्हपुरी गाउँपालिकाको भेल्ही गाउँलाई जोड्ने पुलभन्दा करिब १ सय ५० मिटर दक्षिणमा खोलाले पश्चिमपट्टिको  बाँध भत्काएर  मलंगवा र भारतको सोनवर्षा बिचको पुरै क्षेत्र जलमग्न बनेको छ।  बस्तीमा पानी नपसेपनि  बाढीको पानीले पुलको तल्ले भाग भने छोइसकेको छ।
   सोमबार  दिउँसो आएको बाढीले झिम खोलाको करिब २५ मिटर जति बाँध भत्काएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  बाँध होचो र पानीको वहाव उच्च भएकाले बाँध भत्किएर  पानी मलंगवाको पूर्वी भाग स्थित खाली क्षेत्रमा पसेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
    'बाढीले अहिले कुनै प्रकारको क्षति भएको छैन। पानीको वहाव बढी भएकोले वहाव कम भएपछि बाँध निर्माणको काम गरिने छ', सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए 'अहिले पुल भएर हुने आवत जावतलाई रोकेका छौं। भत्किएको क्षेत्रमा पनि कसैलाई जान दिएका छैनौं।'श्रेष्ठले भने ।
    यस्तै पश्चिम तर्फको लखनदेही खोलामा आएको बाढीले मलंगवा नपाको खुटौना, भाँडसर,कौडेना गापाको सक्रौल र शिवनगरका केही घरहरुमा पानी पसेर क्षति गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिए ।बाढीले जिल्लामा अहिले सम्म ३ दर्जन भन्दाबढी घरहरुमा क्षति पुगेको छ भने साढे २ सय भन्दाबढी मानिसहरु विस्थापित भएको जिप्रका सर्लाहीले बताए ।
     सर्लाहीमा बागमती ,लखनेही र झिम खोलामा आउने बाढीले वर्षेनी ठुलो जन धनको क्षति गर्दै आएको छ ।








No comments:

Post a Comment