Monday, July 6, 2020

सर्लाहीका सरकारी कार्यालयहरु सोमबारबाट खोलियो ,१६ वटा स्थानीय तहको मलंगवा र ४ वटा स्थानीय तहको बरहथवा र हरिवनबाट सेवा प्रवाह हुने




सर्लाही ,असाढ २२
     लकडाउनका कारण बन्द रहेका सर्लाहीका सरकारी कार्यालयहरु आज(सोमबार) बाट खोलिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकमा सामाजिक दुरीको पालना गरेर कार्यालयको काम कार्वाही संचालन गर्ने निर्देशन साथ बन्द रहेका सम्पूर्ण सरकारी कार्यालयहरु टोकन प्रणालीको आधारमा  आज(सोमवार)बाट खोलिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी गराउनु भएको छ ।
     सरकारले असार १ गतेबाट लकडाउन केही खुकुलो बनाएपनि जिल्लामा कोरोना  संक्रमितको बढ्दै गरेको संख्यालाई मध्यनजर गर्दै बढी भिडभाड हुने जिल्ला प्रशासन , इलाका प्रशासन , मालपोत , भुमि सुधार , नापी लगायतका कार्यालयहरु बन्द गरिएको थियो ।बढी भिडभाड नहोस् भन्नका लागि स्थानीय तहहरुका लागि पनि कार्यालय संचालन गर्ने दिन छुट्टयाएको छ ।जिल्लाका २० वटा स्थानीय तह मध्ये १६ वटा स्थानीय तहले सदरमुकाम मलंगवाबाट सेवा प्रवाह गर्ने र बाँकी चार स्थानीय तहको हरिवन र बरहथवाबाट सेवा प्रवाह प्रजिअ  जिसीले बताए। प्रजिअ जिसीका अनुसार सदरमुकाम मलंगवा नगरपालिका र ब्रहमपुरी गाउँपालिकाले आइतवार , हरिपूर्वा नगरपालिका, चन्द्रनगर गाउँपालिका र पर्सा गाउँपालिकाले सोमवार ,  बलरा नगरपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाले मंगलबार , बिष्णु गाउँपालिका, चक्रघटा गाउँपालिका र कविलासी नगरपालिकाले बुधबार ,  कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बसबरिया गाउँपालिकाले बिहीबार तथा  इश्वरपुर र हरिपुर नगरपालिकाकाले शुक्रवार सेवा प्रवाह गर्नेछ ।
   बढी भिडभाड  नहोस भन्नकै लागि स्थानीय तहका लागि दिन छुट्टयाइएको उहाँले बताउनुभयो । कार्यालय संचालनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्धारित गरिएको  सुरक्षासम्बन्धी मापदण्डको  अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रजिअ बताए ।  आइतबार सम्म सर्लाहीमा कुल ६ सय ४२ जना संक्रमितहरु  देखिएका छन् ।

No comments:

Post a Comment