Wednesday, July 1, 2020

सर्लाहीमा सुरु भयो बाढी र कटानको जोखिम ,के छ स्थानीय तहहरुको तयारी ?





सर्लाही ,असाढ १७
      मनसुन सुरु भएसँगै सर्लाहीमा बाढी पहिरोको जोखिम बढेको छ । सर्लाही लगायत तराईका विभिन्न जिल्लाहरुमा बाढी , डुबान र नदी कटान लगायतका जोखिमका कारण हरेक वर्ष  ठूलो जनधनको क्षति हुने गरेको छ । मनसुनी प्रकोपका कारण  ज्यान जानेदेखि घाइते हुने, घर खेत बगाएर बिस्थापित हुने समस्या यहाँका नागरिकले  बर्सेनि झेल्दै आएका छन् ।
       यो वर्ष पनि ठाउँठाउँमा बाढीको समस्या देखिन थालिसकेको छ । प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकोले हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ । तर यहाँका स्थानीय तह तथा  सरोकारवाला निकायहरुले भने तयारीमै रहेको  बताउँदै आएका  छन्  । यसवर्ष पनि सर्लाहीका पालिकाहरुले  विपद् व्यवस्थापनको तयारी थालिसकेको बताएका छन् । कविलासी नगरपालिका नगरप्रमुख कौशल किशोर यादवले कविलासी नगरपालिका भएर तीनवटा खोलाहरु  लखनदेही, झिम र ढंगरा बग्ने गरेको र ती खोलामा आउने बाढीबाट  प्रत्येक वर्ष  खोला छेउछाउका तीनवटा वडाहरु सबैभन्दा बढी प्रभावित हुँदै आएकोले  प्रभावित वडाको छेउ  भएर बग्ने लखनदेही खोलामा तटबन्ध गर्ने काम हालै सम्पन्न गरेको बताउनुभयो ।   बाढी र डुबानबाट  क्षति  भइसकेको अवस्थामा पिडितहरुको लागि  तत्कालै  आवश्यक पर्ने सामानहरुको व्यवस्थापन गरिसकेको जानकारी गराउँदै नगरप्रमुख यादवले  खोज तथा उद्धार कार्यमा प्रयोग हुनसक्ने डोजर, एक्साभेटर जस्ता हेभी इक्विपमेन्ट र अन्य उपकरण औजारहरु तयारी अवस्थामा राखिएको साथै बाढीबाट प्रभावित भएका नागरिकहरुका लागि पाल, भाँडाबर्तन ,रासन र ओढ्ने ओछ्याउने लगायतका अतिआवश्यक सामाग्रीहरुको पनि व्यवस्था गरिसकेको जानकारी गराउनुभयो ।
       सर्लाहीमा  हरेक वर्ष बाढीका कारण ठूलो जनधनको क्षति हुँदै आएको छ । यस्तै नदी कटान जस्ता समस्यामा आवश्यक हुने प्लाष्टिकको बोरा, तार जाली लगायतका सामान पनि तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।   खोज तथा उद्धारका लागि आवश्यक पर्ने उपकरण तथा सुरक्षा सामाग्रीहरु खरिद गरेर कविलासी नगरपालिकामै रहेको सशस्त्र प्रहरीको ब्यारेकलाई उपलब्ध गराइसकेर तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको नगरप्रमुख यादवले बताउनुभयो ।
       यो वर्ष  मनसुन सक्रिय भइसकेकोले सर्लाही जिल्ला भएर बग्ने  बागमती ,लखनदेही, झिम, बाँके लगायत अन्य स-साना नहरहरुमा जलप्रवाह बढ्न गई आसपासका बस्तीहरुमा जोखिम बढेको छ । कोरोना भाइरसका कारण खुला ठाउँमा रहेका विद्यालय भवनहरु लाई क्वरेण्टीन बनाइएकोले बाढीबाट प्रभावित नागरिकहरुको सुरक्षाकोलागि आवश्यक परेमा उद्धार र स्थानान्तरण गरेर कहाँ, कसरी राख्ने भन्ने विषयमा पालिका प्रमुखहरु सँग  विपत्त व्यवस्थापन समितिको बैठकमा  छलफल गरि  समन्वय गर्ने काम भइसकेको पर्सा गाउँपालिकाका गाउँ पालिका प्रमुख किशुनदेव यादवले   जानकारी दिनुभयो ।बैठकमा   खोज तथा उद्धारका लागि सुरक्षाकर्मी, आवश्यक उपकरण, लगायत तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको उहाँले बताउनुभयो ।
    सर्लाहीमा गएको वर्ष बाढीका  कारण ३  जनाले ज्यान गुमाउनु परेको थियो  भने १ जना बेपत्ता भएका थिए । २ हजार ४ सय घर पूर्ण रुपमा क्षति भएको थियो ।

       





1 comment:

  1. Sab bhanda badhi chati hune bharsar me ke tayari chha? Tapai afnai gau ko report kin garnu hunna

    ReplyDelete