Wednesday, July 1, 2020

क्वारेन्टाइन जाँच नगरिकनै भारतीत तरकारी तथा फलफुलको आयात हुँदै



लोकतन्त्र समाचारदाता---
सर्लाही ,असाढ १७
     नेपाल भारत  खुल्ला सिमानाका  हुँदै भारतीय आलु बजारमा भित्रिएर स्थानीय स्तरमा उत्पादन गरिएको  आलुले बजार सहित  उचित मूल्य नपाएको भन्दै सर्लाहीका किसानहरुले चिन्ता ब्यक्त गरेका छन् ।
    भारतीय आलुका कारण गत वर्षको जस्तै यस वर्ष पनि लगानी  उठाउन मुस्किल परेको उनीहरूको गुनासो छ । अहिले बजारमा  रातो आलु २८ रुपैया प्रतिकिलो र  सेतो आलु २४ रुपैया प्रतिकिलोमा बिक्री भइरहेको छ । तीन वर्षदेखि लगातार घटेको आलुको भाउ  यस वर्ष पनि नबढेको स्थानीय किसान अयोधी महतोले भने । पहिले आलु खेतीबाट राम्रै फाइदा हुदै आएकोमा दुइ वर्षदेखि लगानी समेत उठाउन मुस्किल परेको छ, किसान महतोले लोकतन्त्र सँग भने । पाँच वर्षपहिले प्रतिकेजी रु ३७ मा बिक्री भएको आलु अहिले रु २५ देखि रु ३० रुपैयामा मात्र बेच्नु परेको महतोले गुनासो गरे ।
     जिल्लाको हजरिया, राजघाट, शङ्करपुर, सुन्दरपुर र बरहथवा क्षेत्रलाई  आलु उत्पादनको लागि पकेट क्षेत्र मानिन्छ ।किसानले स्थानीय स्तरमा उत्पादन गरेको  आलुले बजार र उचित मुल्य नपाएपछि घरमै  थुप्रो लगाएर राखेको कृषि ज्ञान केन्द्र मलङ्गवाका निमित्त प्रमुख देवानन्द राय यादवले बताउनुभयो । खुल्ला सिमानाका का कारण  जिल्लाका सबैजसो  बजारहरुमा भारतबाट आयात गरिएका  तरकारी तथा फलफूलहरु क्वारेन्टाइन जाँच बिना नै  भित्रने गरेका छन् । आवतजावतमा रोक लगाइएको भए पनि भारतीय तरकारी तथा फलफूलहरु परीक्षणबिना नै बजारमा आउने गरेका छन् । कागती, आलु, प्याज, खुर्सानीलगायत तरकारीहरु र स्याउलगायत अन्य फलफूलहरु यतिबेला बिनापरीक्षण बिनारोकटोक नेपाली बजारमा आइरहेको पाइएको छ ।    



No comments:

Post a Comment