Saturday, July 25, 2020

प्रदेश २ मा बाढीबाट हुनसक्ने जोखिम तथा क्षति न्युनीकरण गर्न उपायहरू अपनाउन प्रदेश मामिला समिति द्वारा प्रदेश २ सरकारलाई निर्देशन


प्रदेश २ मा बाढीबाट हुनसक्ने जोखिम तथा क्षति न्युनीकरण गर्न उपायहरू अपनाउन प्रदेश मामिला समिति द्वारा  सरकारलाई निर्देशन 

लोकतन्त्र समाचारदाता----
सर्लाही ,साउन १०
    प्रदेश न-२ मा  बागमती , कमला र कोशी नदीको बाढीबाट हुनसक्ने जोखिम र क्षति न्यूनीकरण गर्न अविलम्ब तटबन्ध र बायो इन्जिनियरिङ लगायतका उपाय तर्जुमा गर्न  प्रदेश मामिला समितिले  आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिइएको छ । प्रदेश मामिला समितिको शनिबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले ,नदी कटान र मानव बस्ती तथा अन्नबालीको संंरक्षणका लागि तत्कालीन तटबन्ध र दीर्घकालीन बायो इन्जिनियरिङका उपाय तर्जुमा गर्न मन्त्रालयलाई निर्देशन दिएको समितिका अध्यक्ष एवं  प्रदेश सभा सदस्य अशोक यादवले जानकारी दिए ।हरेक वर्ष वर्षाको समयमा  बागमती  नदीले विभिन्न पाँच स्थानका तटबन्ध कटान गरेकाले रौतहटको गौर, राजदेवी, इशनाथ, बोडीमाइ र परोहा नगरपालिका डुबानमा पर्नसक्ने भएकाले ती स्थानहरुमा तत्काल तटबन्धको निर्माण कार्य अघि बढाउन मन्त्रालयलाई निर्देशन दिइएको अध्यक्ष यादवले बताए ।
उहाँले बैठकमा प्रदेश न- २ मा वाग्मती, कोसी र कमला नदीको बाढीका कारण हुने गरेको डुबान सम्बन्धी समस्या निराकरण गर्न पूर्वतयारी गरी विपद् पछिको राहत तथा  अन्य व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बद्ध निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र स्थानीय सरकारसँग सहकार्यका साथै जिम्मेवारी बाँडफाँटको स्पष्ट मार्गचित्र तयार पार्न समेत  निर्देशन दिएको बताउनुभयो ।
    यसैगरी बैठकले कोसी बाँधको पश्चिमतर्फको तटबन्ध भास्सिने  सम्भावनालाई मध्यनजर गरी तटबन्ध पुनः निर्माणमा तत्काल कदम चाल्न मन्त्रालयलाई निर्देशन दिइएको उनले बताए । अहिले वर्षा र बाढीको सम्भावना कायमै रहेकाले उद्दार एवं बचावका लागि हेलिकप्टर, मोटरबोट, वाटरबोटलगायतका सामग्रीहरुको व्यवस्था गरी तयारी अवस्थामा बस्न समितिले निर्देशन दिएको छ ।
समितिले स्थान अभावका कारण बाढी प्रभावित र कोरोना प्रभावितलाई राख्न सामुदायिक विद्यालय प्रयोग हुनसक्ने भएकाले  छुट्टै सुरक्षित स्थानको व्यवस्था गर्न पनि मन्त्रालयलाई  भनेको छ ।
    चुरे विनासका कारण प्रदेश २ मा बाढी र नदी कटानको जोखिम बढ्दै गइरहेकाले चुरे संरक्षण गर्न तत्कालीन र दीर्घकालीन रणनीतिहरु तर्जुमा गरेर अघि बढ्न समितिले सरकारलाई निर्देशन दिएको अध्यक्ष यादवले बताए ।


No comments:

Post a Comment