Saturday, July 25, 2020

वडाध्यक्ष कुट्ने सर्लाही हरिपुर्वाका हाकिम सकलदेव उपर ७ दिनको म्याद थप गरि अनुसंधान सुरु


*प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव*


सर्लाही ,साउन १०

   सर्लाहीको हरिपूर्वा नगरपालिकामा वडा अध्यक्ष माथि कुटपिट गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।हरिपुर्वा नगरपालिका वडा न-३, धनकौल पुर्वीका  वडाध्यक्ष धर्मराज सिंह महतो माथि कुटपीट गर्ने सोही पालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहित अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

     बिहिवार साँझ गाउँमै प्रशासकीय अधिकृत सकलदेव राय सहित उनका भाई कपिलदेव राय र उनका छोरा, भतिजाहरु मिलेर वडाध्यक्ष महतोलाई कुटपीट गरी घाईते बनाएका थिए । कुटपिटबाट वडा अध्यक्ष   महतोको हात, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी थप उपचारका लागि शुक्रवार ललितपुरको धापाखेल स्थित सुमेरु अस्पताल लगिएको परिवारका सदस्यलाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले बताएको छ । 

      कुटपिटमा संलग्न कपिलदेव  र अर्का एकजनालाई घटना कै  दिन पक्राउ गरेको र  प्रमुख प्रशासकीय अधिकृत यादवलाई सोधपुछका लागि भन्दै  शुक्रवार  बिहान  पक्राउ गरि मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएको थियो  ।

    केही दिन पहिले गाउँमा लागेको धार्मिक मेला घुम्ने क्रममा  वडाध्यक्ष महतो नजिककी आफ्नै  नातेदार एक युवतीलाई प्रमुख प्रशासकीय अधिकृत राय नजिकका केही युवाहरुले जिस्काएको निहुँमा उनीहरु बीच विवाद हुँदै आएको र  सोही विषयलाई लिएर वडाध्यक्ष महतोमाथि कुटपीट भएको हुन सक्ने स्थानीयबासीहरुले आशंका गरेका छन्  । 

     वडाध्यक्षका परिवारले शुक्रवार प्रमुख प्रशासकीय अधिकृत यादव सहित अन्य आरोपी विरुद्ध जिल्ला प्रहरी कार्यालय सर्लाहीमा   ज्यान मार्ने उद्योगमा  किटानी जाहेरी दिएपछि सोही दिन सर्लाही  जिल्ला अदालत मलंगवाबाट सातदिनको म्याद थप गराई अनुसंधान प्रक्रिया अघि बढाएको प्रवक्ता कुवँरले लोकतन्त्रलाई बताए ।

   उनी नेपाल कम्युनिस्ट पार्टीबाट चुनाव जितेर वडाध्यक्ष बनेका हुन ।महतो माथि भएको संघातिक हमला प्रति पार्टीले घोर भत्सर्ना गरेको बताउँदै पार्टीका जिल्ला कमिटी सदस्य  जितेन्द्र कुशवाहाले दोषी उपर कडा कार्यवाहीको माग गरेका छन् ।

No comments:

Post a Comment