Sunday, August 16, 2020

थप कडाइका साथ सर्लाहीमा फेरि ७ दिनको लागि निषेधाज्ञा जारी गरियो

 


सर्लाही ,साउन ३२
    स्थानीय प्रशासनले  सर्लाहीमा भदौ १ गते सोमबारदेखि   भदौ ७ गते राती १२ बजेसम्मका लागि पुनः  निषेधाज्ञा आदेश जारी गरेको छ । यस अघि पहिलोपटक साउन २६ गतेबाट सात दिनका लागि  निषेधाज्ञा जारी गरिएको थियो ।यस पटक थप  कडाईका साथ  औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरेको जिल्ला जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण  रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) को आइतवार सदरमुकाम मलंगवामा बसेको बैठकमा भएको निर्णय अनुसार दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । उक्त आदेश  स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम दिएको प्रजिअ पौडेलले बताए । भदौ एक गते सोमबार बिहान ६ बजेदेखि भदौ सात गते राती १२ बजेसम्मको लागि  निषेधाज्ञा जारी गरिएको उनले बताए ।
     जिल्लाको २० वटै स्थानीय तहमा परीक्षणको दायरा बढाइएसँगै सदरमुकाम मलंगवा लगायत बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी नगरपालिकामा जनप्रतिनिधि,  कर्मचारी, स्वास्थ्यकर्मी र विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुमा संक्रमण पाइएपछि  समुदाय स्तरमै संक्रमण फैलिसकेकोले यसको  संक्रमण समुदाय स्तरमा थप हुन नदिन निषेधाज्ञा  जारी गर्नु परेको प्रजिअ पौडेलले  जनाएको छ ।प्रजिअ पौडेलका अनुसार निषेधाज्ञाको अवधी अर्थात  सोमबारबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यसअघि खाद्यान्न र फलफुल एवं तरकारी पसललाई दैनिक दिउँसो २ देखि साँझ ७ बजेसम्म खोल्न दिने भनिएपनि सोमबार (भदौ १ गते)बाट भने थप कडाई गरिएको छ । अबदेखि सोमबार, बुधबार र शुक्रबार मात्र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, फलफूल एवं तरकारी पसल खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने भनिएको छ । यसैगरी स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु पनि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।  छिमेकी मित्र राष्ट्रबाट हुने सामग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पूर्ण रुपमा निषेध गर्ने र सीमा नाका पूर्ण रुपमा सिल हुने डीसीसीएमसीको बैठकमा निर्णय भएको छ ।
    सर्लाहीमा सनिवारसम्म ९६२ जना ब्यक्तिमा कोरोना भाईरसको संक्रमण पुष्टि भईसकेको छ भने एकजना महिलाको मृत्यु भएको छ ।

No comments:

Post a Comment