Sunday, August 30, 2020

सर्लाहीमा चौथो पटक थपियो लकडाउन

 

भदौ १५ गतेदेखि भदौ  २१ गते सम्म जिल्ला भर निषेधाज्ञा


लोकतन्त्र समाचारदाता----
सर्लाही ,भदौ १४
     जिल्ला कोरोना संकट व्यवस्थापन समितिको आज बसेको बैठकबाट सर्लाहीमा चौथो पटक फेरि एक साताको लागि लकडाउन गरिएको  छ ।आज दिउँसो जिल्लाका २० वटै पालिका प्रमुख, राजनीतिक दलका प्रतिनिधि  नागरिक समाजका प्रतिनिधि,सुरक्षा प्रमुख , स्वास्थ्यकर्मी लगायत बीच भएको  छलफल पश्चात् भोली (सोमबार) भदौ १५ गते बाट भदौ २१ गते राती १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा  जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।यस अघि जिल्लामा सात-सात दिन को तीन पटक  निषेधाज्ञा लगाइ सकिएको छ ।यो चौथो पटक हो ।
    सो अवधीभर अत्यावश्यक काम बाहेक कुनैपनि सरकारी तथा गैर सरकारी कार्यालयहरु खोल्न नपाईने,  निजी तथा सार्वजनिक भाडाका सवारी साधन चलाउन नपाईने , दैनिक उपभोग्य बस्तु बिक्री गर्ने पसलको हकमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खोल्न पाईने प्रजिअ पौडेलले बताए ।त्यस्तै  बैंक तथा वितिय संस्थाहरु भरसक भर्चुअल अथवा पूर्व निर्धारित  टोकन प्रणाली वा विद्युतीय प्रणालीबाट सेवा प्रदान गर्ने र त्यस्तो सम्भव नभएमा राष्ट्र बैंकले तोके अनुसार सिमित कर्मचारीहरु राखेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र कार्यालय संचालन गर्न पाउने छन् ।
    दैनिक उपभोग्य बस्तु विक्री गर्ने पसल तथा बैंक एवं वित्तीय  संस्थाहरुले हात धुने साबुन पानी वा सेनिटाईजरको व्यवस्था गरेर भौतिक दुरी कायम गरि अनिवार्य रुपमा  मास्क लगाएर मात्र  सेवा प्रदान गर्नुपर्ने छ ।अनुगमनका क्रममा त्यस्तो गरेको नपाईएको खण्डमा  कडा कार्यवाही  गरिने प्रजिअ पौडेलले बताए । दैनिक उपभोग्य र अत्यावश्यक सामान बाहेक हाटबजार, होटल लगायतका व्यवसाय पूर्ण रुपमा बन्द गर्नुपर्ने छ ।
     कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन  बढ्ने क्रममा  रहेकाले सरोकारवाला सबै पक्ष, तह र तप्काले कडाईका साथ आदेशको पालना गर्न र गराउन आग्रह गर्दै आदेश उल्लंघन गर्नेमाथि कानून बमोजिम काबाही हुने प्रजिअ पौडेलले  बताउनुभयो ।

No comments:

Post a Comment