Saturday, August 1, 2020

कोभिड-१९ ले गर्दा तराइ मधेसका जिल्लाहरुमा रक्षाबन्धन पर्वको रौनक हरायो



मनोज यादव(भिडियो सहित)
सर्लाही ,साउन १७
   साउन शुक्लपक्ष शुरु हुनासाथ  सर्लाही जिल्ला सहित मधेसका अन्य जिल्लाहरुमा देखिने गरेको रक्षाबन्धन पर्व (राखी)को रौनक तथा चहलपहल यसपटक भने देखिएको छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको  त्रासले अझै राम्रोसँग   सार्वजनिक यातायातहरु संचालनमा नआएको साथै नेपाल-भारत सिमामा पनि आवतजावत  बन्द रहेका कारण टाढा रहेका दाजुभाइ तथा दिदीबहिनी यसपालिको रक्षाबन्धनमा राखी बाँध्न नआउने भएपछि  तराई मधेसका जिल्लाहरुमा राखीको रौनक घटेको हो ।     
       मिथिला  क्षेत्रमा यो पर्व साउन पुर्णिमाका  दिन मनाइए पनि यसको तयारी भने साउन शुक्लपक्ष लाग्नासाथ शुरु हुन्छ ।हाटबजार पुरै रंगीचंगी कलात्मक राखिहरुले सजिन थाल्छन र चारैतिर रक्षाबन्धनका गीतहरु बज्न थाल्छ ।तर यसपाली भने यो सब हराएको छ । बजारमा पाइने राखीहरु भारतबाट ल्याउनु पर्छ तर अहिले बोडर बन्दका कारण नयाँ डिजाइनका राखीहरु ल्याउन नपाएकोले पोहोर सालकै बचेका केही राखीहरु बिक्री गर्नुपरेको छ । यसपटकको सिजनमा  राखीको कारोवारमा पनि मन्दी छाएको यहाँका स्थानीय व्यापारी बताउँछन् ।
      
 
    यसपटकको रक्षाबन्धनमा टाढा रहेका दाजुभाइ सँग भेटघाट नहुने भएपछि  फोनमै कुरा गरेर चित्त बुझाउनु परेको धेरैजसो दिदीबहिनीहरुले  गुनासो गरेका छन् ।रक्षाबन्धन आउन अब केही दिन मात्र बाँकी छ तरपनि बजारमा न त कुनै चहलपहल छ न त दाजुभाइ  आउने टुङ्गो नै छ ।यसपटकको रक्षाबन्धन खल्लो भएको मलंगवाकी २४ वर्षिया कविता यादवले बताइन् ।
      मधेसमा विवाहित  दिदीबहिनीले आफ्ना दाजुभाइलाई राखी बाँध्न आउन निम्ता दिने गर्छन ।दाजुभाइ आउन नभ्याएको अवस्थामा आफै माइती पुगेरै भएपनि आफ्ना दाजुभाइलाई राखी बाँध्ने गर्छन ।
         
 
      मिथिला  क्षेत्रमा दाजुभाइ तथा दिदीबहिनी बीचको आपसी प्रेम ,समर्पण र परम्परागत संस्कृतिको रुपमा रहेको  यो पर्व यसपाली कोरोनाको कहरले गर्दा निरश तथा खल्लो हुने जानकारहरु बताउँछन्। कोरोना त्रासले यसपालि घरबाट टाढा या विदेशमा रहेका दाजुभाइ दिदीबहिनी बीच भेटघाट  हुने सम्भावना कम भएको छ ।
    पछिल्लो समय सरकारले लकडाउन हटाएपछि नजिक रहेका दाजुभाइ तथा दिदीबहिनी बीचको भेटघाट र रक्षाबन्धन मनाउने सानो अवसर भने जुटेको देखिन्छ । तर पछिल्लो समय प्रदेश नम्बर २ मा कोरोना भाइरसको प्रकोप   झन् बढ्दै गएकोले ढुक्कसँग हिँडडुल गर्न भने पाइएको छैन । लकडाउन हटे पनि कोरोना भाइरसको संक्रमण कायमै रहेको हुँदा कुनै पनि चाडपर्व मनाउनु पर्दा बढी  भीडभाड नगरी आफ्नो स्वास्थ्यको ख्याल राखेर चाडपर्व  मनाउन स्वास्थ्यकर्मीहरुले  सुझाव दिएका छन् ।     

No comments:

Post a Comment