सर्लाहीका कोरोना संक्रमितहरु आइसोलेसन छाडेर खुलेआम रुपमा बजार घुम्न थालेपछि संक्रमणको जोखिम बढ्यो
सर्लाही, भदौ ६
होम आइसोलेसनमा बसेका कोरोना भाईरस (कोभिंड १९ ) बाट संक्रमित ब्यक्तिहरु आइसोलेसन छाडेर बजारमा खुलेआम घुम्न थालेपछि सर्लाही जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको छ ।
प्रदेश सरकार तथा स्थानीय निकायले निर्माण गरेको आईसोलेसनमा रहेका संक्रमितको भन्दा होम आईसोलेसनमा रहेका संक्रमितहरुको संख्या झन्डै दोब्बर रहेको छ । प्रायः जसो होम आईसोलेसनमा रहेका अधिकांश संक्रमितहरु हुने खाने र पहुँचवालाहरु रहेका छन । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले दिएको जानकारी अनुसार सर्लाहीमा होम आईसोलेसनमा २ सय ८४ जना रहेका छन् । उनीहरू आइसोलेसनमा बस्दा अपनाउनु पर्ने सबै नियमहरुलाई तोड्दै निर्धक्कका साथ खुलेआम रुपमा बिहान मोर्निङ्ग वाक तथा चिया खाजा खान बजार निस्कन थालेपछि जिल्लामा संक्रमितको संख्या बढदै गएको छ । प्रजिअ पौडेलले पनि यसकुरालाई स्विकार्नु हुँदै आफुले समेत एकजना संक्रमित ब्यक्तिलाई आइसोलेसन छाडेर बाहिर घुमेको भेटाएपछि निजलाई नियन्त्रणमा लिएर ग्रुप आईसोलेसनमा पठाएको बताउनुभयो ।
सर्लाहीको बरहथवा नगरपालिकामा ५२ जना कोरोना संक्रमितहरु फेला परेपछि १३ जनालाई ग्रुप आईसोलेसनमा राखिएको छ, भने ३९ जना होम आईसोलेसनमा बसेका छन् । होम आईसोलेसनमा बसेका ब्यक्तिहरु बाहिर घुमेको पाइएको छ । बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले यो चिन्ताको विषय भएको बताउँदै यसको समाधानका लागि जिल्ला स्तरमा बैठक बसि एउटा ठुलो आईसोलेसनको निर्माण गर्नुपर्ने बताए ।
सरकारले कोरोना संक्रमण फैलिन नदिन लकडाउन लगाए पनि यसरी संक्रमितहरु खुलेयाम रुपमा बाहिर घुम्न थालेपछि लकडाउनको औचित्य समाप्त भएको सामाजिक अभियन्ताहरु बताउँछन् । यस प्रति नेपाल सरकारको तत्कालै ध्यानाकर्षण भएन भने यसको परिणाम घातक हुने समेत उनीहरुले चेतावनी दिएका छन् ।
No comments:
Post a Comment