Sunday, October 18, 2020

सत्तापक्ष प्रती प्रशासनकाे झुकावका कारण अान्दोलन गर्नु परेकाे नेपाली कांग्रेस सर्लाहीको भनाई

 




बखतियार अलि-                            

सर्लाही कार्तिक २

    आज दिउँसो नेपाली काँग्रेस सर्लाही  क्षेत्र न-४ ले  धनकौल गाउँपालिकामा आयोजना गरेको  पत्रकार सम्मेलनमा बोल्दै पार्टीका  जिल्ला उप-सभापति सुरेन्द्र प्रसाद सिंह, संघीय सांसद डा. अमरेश कुमार सिंह, प्रदेश सांसदद्वय उपेन्द्रप्रसाद कुशवाहा र वीरेन्द्र प्रसाद सिंह लगायत नेताहरुले दशैं लगतै जिल्लामा  आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिएका छन ।

      धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साह, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल राय, बसबरिया गाउँपालिकाका अध्यक्ष राम अयोध्या यादव, रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण कुमार बर्मा एवं कांग्रेसका जिल्लास्तरीय विभिन्न नेताहरुको समेत उपस्थिती रहेको पत्रकार सम्मेलनमा बोल्दै सांसदहरुले आफूहरु माथि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर र ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले दुर्ववहार  समेत गरेको आरोप लगाए । ‘जनताबाट निर्वाचित हामी जनप्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी  राठौर तथा डीएसपी  भाटबाट भौतिक रुपमै र फोनबाट समेत दुर्ववहार  भएको छ’, ४ नं. क्षेत्रबाट निर्वाचित संघीय सांसद् डा. सिंहले भने, ‘पीडित जनतालाई न्याय देउ भनेर आवाज उठाउँदा जनप्रतिनिधि माथि दुर्ववहार  गरेर नेपाल प्रहरीका अधिकारीहरुले नेकपा प्रहरीको व्यवहार देखाएका छन्, अब हामी पनि छाड्नेवाला छैनौं, दशैंपछि आन्दोलनको आँधीबेरी ल्याउने छौं ।’ एसपी राठौरले फोन गरेर आफूमाथि अत्यन्त नीच स्तरको गालीगलौज गरेकाले कानूनी कारबाहीका लागि समेत तयारी गरिरहेको संघीय सांसद् सिंहले जानकारी दिए ।  

       हिन्दुहरुको महान चाड दशैंका कारण हाललाई आन्दोलन स्थगीत गरिएको र कोजाग्रत पूर्णीमा लगतै चरणबद्ध रुपमा आन्दोलनको आँधीबेरी ल्याउने जिल्ला उपसभापति सिंहले चेतावनी दिए । आन्दोलनका कारण हुने सबैखाले अप्रिय घटनाको जिम्मेवार स्थानीय प्रहरी प्रशासन नै रहने समेत उपसभापति सिंहको भनाई थियो ।

    कुटपिटबाट गम्भिर घाईते भई वीरगंजमा उपचार गर्दागर्दै असोज २२ गते मृत्यु भएका रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र राममाथि कुटपिट गर्ने हरुलाई कानूनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रहरी प्रशासनले वेवास्ता गरेको कांग्रेस नेताहरुले बताएका छन् । राममाथि कुटपिट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिन खोज्दा सत्ताधारी दलका नेताहरुको ईसारामा प्रहरीले जाहेरी लिन नमानेको र त्यसको विरोध प्रदर्शन गर्दा उल्टै बल प्रयोग गरेर मृतकका भाई, श्रीमति एवं आधा दर्जन महिला सहित दुई दर्जन नेता कार्यकर्तालाई घाईते बनाएको प्रदेश सांसद् वीरेन्द्रप्रसाद सिंहले बताए ।२२ गते मृत्यु भएका रामको शव अहिलेपनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमै रहको छ । आफन्तले घर ल्याउँदै गर्दा प्रहरीले शव समेत खोसेर लगेको कांग्रेस नेता एवं प्रदेश सांसद उपेन्द्र प्रसाद कुशवाहाले जानकारी दिए ।

No comments:

Post a Comment