Friday, October 2, 2020

नेपाल भारत सिमा नाका खोल्नुपर्ने माँग गर्दै नागरिक समाजले सिडियो मार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठायो

 



सर्लाही, असोज १६
    विगत ६ महिनाभन्दा बढी समयदेखि बन्द रहेको नेपाल-भारत सीमा नाका खोलेर दुबैतर्फका नागरिकहरुको जनजिवन सहज बनाउन सहयोग गरिदिन आग्रह सहित माँग गर्दै नागरिक समाज सर्लाहीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको सचिवालय तथा  प्रदेश २ को मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
   नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाको नेतृत्वमा ९ सदस्यीय टोलीले  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाएका छन् । दुवै देशका  नागरिकहरु बीच एकअर्कामा  परस्परको निर्भरता, नाता गोता,  औषधोपचार, रोजगारी लगायतका सम्बन्ध  रहेकोले लामो समयदेखिको सिमा बन्दका कारण अवस्था जटिल र कष्टकर बन्दै गएकोले सिमानाका खोलाउनु पर्ने माग गर्दै सिडियो मार्फत प्रधानमन्त्रीको सचिवालय र प्रदेश २ को मुख्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य तथा  उद्योग वाणिज्य संघ सर्लाहीका जिल्ला कार्यकारिणी सदस्य  गजेन्द्र गुप्ता`गणेश´ले बताउनुभयो ।
   साथै ज्ञापनपत्रमा सरकारले अनसनरत डाक्टर गोविन्द केसी सँग अविलम्ब वार्ता गरि निकास दिनपनि माग गरिएको छ ।ज्ञापनपत्र बुझाउन गएका टोलीले घरेलु,मालपोत र नापी कार्यालयमा सेवाग्राहीहरुलाई भोग्नु परेको सास्ती र कर्मचारी अभावको बारेमा प्रजिअ पौडेललाई जानकारी गराई त्यसतर्फ ध्यानाकर्षण गराएका  थिए ।प्रजिअ पौडेलले असोज मसान्तसम्म सिमानाका बन्द रहने टोलीका सदस्यहरुलाई जानकारी गराउनुभयो ।
    नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी, जेष्ठ नागरिक जिल्ला संघ सर्लाहीका अध्यक्ष डा. अब्दुर रहीम मिकरानी, नेपाल मानव अधिकार संगठन सर्लाहीका अध्यक्ष रजनीकान्त झा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य अजित सिंह, तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायंस) सर्लाहीका संयोजक मुकेश मिश्र, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य गजेन्द्र गुप्ता,  नागरिक अगुवा कौशल किशोर सिंह, नेपाल बार एशोसियसन सर्लाहीका पूर्व जिल्ला सचिव ब्रज किशोर पंडित लगायतका व्यक्तिहरुले संयुक्त रुपमा हस्ताक्षर गरी प्रेस विज्ञप्ती बुझाएका हुन । 

 

No comments:

Post a Comment