Thursday, October 8, 2020

जरिवाना नलिने सरकारको निर्णय विपरीत फाइन काट्दै विद्युत् प्राधिकरण

 




लोकतन्त्र समाचारदाता----

सर्लाही, असोज २२ 

     सर्लाही स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङनै नगरी ग्राहकहरु सँग  जरिवाना असुली रहेको खुल्न आएको छ । 

   सरकारले लकडाउन गरेको समयमा  मिटर रिडिङ नगरी  वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा १० प्रतिशत थपेर जरिवाना लिएको ग्राहकहरुले बताएका छन्।  विगत ५-६ महिनासम्म मिटर रिडिङ नगरी बसेको उक्त वितरण केन्द्रले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको ग्राहकहरुले  गुनासो गरे । प्राधिकरणका कर्मचारीले समयमा मिटर रिडिङ नगरेको र आफूले पैसा तिर्दा मिटरमा उठेको रकमको जरिवानासमेत गरी तिर्नुपरेको उनीहरूले बताएका छन् । सरकारले लकडाउनको समयमा विद्युत् महशुलको जरिवाना नलिन भनेको भए पनि सर्लाहीको वितरण केन्द्रले मिटर रिडिङ नगरिकनै जरिवाना असुल्ने गरेको गुनासो आएको छ ।

    शुरुशुरुमा समस्या आएको तर अहिले त्यो समस्या समाधान भइसकेको साथै सबै विकल्प दिइएको भए पनि उपभोक्ताले बेवास्था गरेका र सबैलाई जानकारी नभएका कारण पनि समस्या आएको विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीका प्रमुख सुधीरकुमार रायले बताए।पहिलाको निर्णयअनुसार असोज ६ गतेपछि जरिवाना लिने भनिएको र सोहीअनुसार जरिवाना लिएको तर फेरि विद्युत् प्राधिकरणले असोज २२ गतेसम्म जरिवाना नलिने निर्णय गरेपछि बीचमा लिएको जरिवाना खपत युनिटबाट घटाउने विद्युत् प्राधिकरणले निर्णय गरेको प्रमुख रायले बताए।


No comments:

Post a Comment