Friday, October 2, 2020

सर्लाहीका अधिकांश विद्यालयहरु खुले

 


 **,विद्यालय खोल्न  डीसीसीएमसीले पनि अनुमति दिए**

सर्लाही ,असोज १६
    कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण  गत चैत्र मसान्तदेखि बन्द रहेको सर्लाहीका अधिकांश  पालिकाहरुमा संचालित विद्यालयहरुमा  पठनपाठन सुरु भइसकेको  छ ।
    शिक्षा मन्त्रालयबाट जारी भएको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजिम पढाई सुरु गरिएको हो । निर्देशिका बमोजिम कतिपय ठाउँमा विद्यालय नै खोलेर र केही ठाउँमा अन्य वैकल्पिक माध्यमबाट पठनपाठन गराउन थालिएको शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा, सर्लाहीका प्रमुख सत्रुघन  यादवले जानकारी दिए ।  धेरैजसो पालिकाहरुमा सबै विद्यार्थीलाई एकैचोटी नबोलाई एक-दुई दिनको अन्तरमा  पालैपालो गरि कक्षा संचालन गरेको पाइएको छ । शैक्षिक सत्र प्रभावित हुन नदिन पालिकाहरुको निर्णय र शिक्षा मन्त्रालयको निर्देशिका अनुसार पढाई सुरु गरिएको विद्यालयका संचालकहरुले बताएका छन् । कतिपय गाउँ टोलमा सिकाई केन्द्र खडा गरी पठनपाठन गराउन शौचालय, खानेपानी र फराकिलो ठाउँको अभाव भएकाले विद्यालयलाई नै सिकाई केन्द्र बनाएर  पढाउन थालिएको ईकाई प्रमुख यादवले बताए ।
   जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) सर्लाहीले पनि बैठकमा निर्णय गरि  अहिलेसम्म पठनपाठन सुरु नगरेका विद्यालयहरुलाई शिक्षा मन्त्रालयले बनाएको निर्देशिका बमोजिम पठनपाठन सुचारु गर्न अनुमति दिइसकेको  छ । मलंगवा नगरपालिका वडा न-२ स्थित आइसोलेसनको रुपमा प्रयो हुँदै आएको  सन्त अल्पमाई राम नारायण यादव नर्सिङ कलेज अगाडि रहेको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय पनि संचालनमा आउने भएको छ । अहिले उक्त  भवनमा आइसोलेसनमा खटिएका  स्वास्थ्यकर्मी र नेपाली सेना बस्दै आएका छन् ।

No comments:

Post a Comment