Monday, February 1, 2021

भारतीय सेतो अण्डाका कारण सर्लाहीका अण्डा व्यवसायी मारमा

 


भारतीय सेतो अण्डाका कारण सर्लाहीका अण्डा व्यवसायी मारमा

"भारतबाट ओसारपसारमा रोक लगाइ बजारमा भेटिएका अण्डाजन्य बस्तु नष्ट गर्न जिल्ला प्रशासनको आदेश" 


मनोज यादव---

सर्लाही ,माघ १९

  भारतबाट अवैध रुपमा भित्रिएका  सेतो अण्डाका कारण नेपाली  व्यवसायीहरु मारमा परेका छन् । भारतीय सेतो अण्डा  नेपालमा उत्पादन हुने अण्डा भन्दा केहि सस्तो हुने भएकोले  खुला सिमाना का कारण भारतबाट लुकाइछिपाइ सेतो अण्डा भित्रिने गरेको छ । 

    पटक पटक त्यस्ता अण्डा नियन्त्रणका लागी स्थानीय प्रशासन सँग आग्रह  गरेपनि यसको बिक्रीवितरणमा रोक लगाउन स्थानीय प्रशासन र सरोकारवाला निकायबाट एकपटक पनि पहल नभएको हरिपुर नगरपालिका वडा न-४ हरैयामा संचालित विदेह पोल्ट्री प्रा.लि का संचालक तथा व्यवसायी  विजय कुमार अधिकारीले  बताउनुभयो । गैरकानुनी रुपमा भित्रिने भारतीय सेतो अण्डाका कारण नेपाली व्यवसायीले उत्पादन गरेको अण्डा बिक्री  नहुँदा व्यवसायीहरु मारमा पर्दै आएका छन् ।

    बजारमा भारतीय अण्डाहरु छ्याप्छ्याप्ती  भएपछि सर्लाहीका  सिमावर्ती बजार क्षेत्रमा नेपाली अण्डाको  बिक्री हुन छाडेकाले  नेपाली व्यवसायीहरुलाई ठुलो आर्थिक घाटा  व्यहोर्नुपरेको व्यवसायी अधिकारीले गुनासो गरे  । नेपालमा भन्सार गरेर समेत भित्राउन  नपाइने भारतीय अण्डा  अहिले छ्याप्छ्याप्ती विक्रि भईरहेको छ , प्रशासनले यसको नियन्त्रणमा चासो देखाउनुपर्छ’’ अधिकारीले भने  ।

    भारतीय सेतो अण्डाका कारण नेपाली अण्डा  विक्रि हुन छाडेपछि सर्लाहीका व्यवसायीहरुले भारतीय बजारमा बर्डफ्लुको उच्च जोखिम रहेको अवस्थामा नेपाली बजारको लागि अवैध रहेको सेतो अण्डा बजारमा छ्याप्छ्याप्ती रहेकोले कृषि क्षेत्रमा लगानी गरेका मध्यमवर्गीय व्यवसायीले स्थानीय स्तरमा उत्पादन गरेका अण्डा आफ्नै बजारमा बिक्रीवितरण गर्न कठिनाइ भएको भन्दै त्यस्ता भारतीय अण्डाको ओसारपसार बन्द गर्न लगाई   बजारमा रहेका भारतीय अण्डा पनि नष्ट पार्न लगाई बर्डफ्लुको जोखिम न्युनिकरणमा सहयोगका साथै स्थानीय अण्डा व्यवसायीहरुलाई व्यवसाय संचालनमा सहज गरिदिन जिल्ला प्रशासन कार्यालय सर्लाहीसँग आग्रह गरेका छन् ।

   आफुहरुको आग्रहमा जिल्ला प्रशासन कार्यालयबाट समेत  बर्डफ्लु लगायतका कारण भारतबाट भित्रिने कुखुरा ,चल्ला र अण्डाजस्ता सामाग्री माथि रोक लगाउन सशस्त्र प्रहरीलाई आदेश दिइसकेको र उक्त आदेश कार्यान्वयन नभएको भए तत्कालै पुर्ण रुपमा लागु गर्न साथै  बजारमा भेटिने अण्डाजन्य बस्तु एक्सपायर भइसकेको बुझी उद्योग वाणिज्य संघ, बजार व्यवस्थापन ,कृषि ज्ञान केन्द्र र निरिक्षण अधिकृतको सक्रियतामा नष्ट गरिसकेको प्रतिवेदन पेश गर्न भनी  लिखित आदेश समेत भइसकेको व्यवसायी अधिकारीले बताए ।

    भारतमा दाना र चल्ला सस्तो भएकाले पनि भारतीय अण्डा नेपाली अण्डाको तुलनामा सस्तो रहेकोले पनि  सर्लाहीको  सिमावर्ती  सदरमुकाम मलंगवा ,त्रिभुवननगर , पर्सा, संग्रामपुर, हरिपुर्वा,कौडेना,  गोडैता ,फुलपरासी, मधुवनगोठ लगायतका बजार क्षेत्रमा भारत बाट अवैध रुपमा भित्र्याइ खुलेआम बिक्रीवितरण  हुँदै आएको छ ।

No comments:

Post a Comment