Tuesday, February 16, 2021

*"सरस्वती पुजा"*

 लेख /रचना....✒️ 

               *"सरस्वती पुजा"*



सुन्दर श्याम राय  (सामाजिक अभियन्ता)


   श्रीपन्चमी अर्थात सरस्वती पुजा यस दिन बाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु सुरु हुने भएकाले यस दिनलाई वसन्तपञ्चमी पनि भनिन्छ । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । सरस्वती ज्ञानविज्ञान, कला–शिल्प, संगीतकी देवी हुन्  यसै  दिन साना साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । यस दिनमा बालबालिकालाई अक्षर पढन लगाएर शिक्षाको शुभारम्भ गरिने प्रचलन रहि आएको छ । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत मानिन्छ । कुनै पनि नयाँ कामको थालनीको सर्वोत्तम साइत हो सरस्वती पुजाको दिन।

सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ । विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन् l ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन् । यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ । सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले यस दिन पूजामा यी सामग्री चढाउने गरिन्छ । पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ । यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ । यसपछि सरस्वती कवच पाठ गरिन्छ।

सरकारी एवं गैर सरकारी विद्यालयहरुले विविध कार्यक्रमहरुको आयोजना गरी सरस्वती पूजा मनाउने गर्छन। 

 वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ।

शिक्षक, विद्यार्थी, साहित्यकार, चित्रकार, गायक, अभिनेता लगायतका विद्याका साधकहरुले आआफ्ना कलासाधनाका उपादानहरु कलम, कापी, कूची, वाद्ययन्त्र आदिको पूजा गर्ने चलन छ।

विहानै देखी शिव मन्दिर लगायत सरस्वती मन्दिरहरूमा विशेष भीड लाग्ने गर्दछ। विभिन्न सरस्वती मन्दिरमा विद्यार्थीहरुको घुँईचो लाग्ने गर्छ।

यश दिन बौद्ध धर्मावलम्बीहरुले पनि विद्याका प्रतीक मञ्जुश्री बुद्ध चीनबाट उपत्यका प्रवेश गरेको दिन मानी पूजा आराधना गर्छन् ।

No comments:

Post a Comment