Friday, February 19, 2021

भारत तर्फको सिमानाका खुल्ला भएका कारण लागुऔषध नियन्त्रणमा समस्या भइरहेको गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाको ठहर

 


मनोज यादव---

सर्लाही ,फाल्गुन ७

      गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखाले आज(शुक्रवार) सर्लाही जिल्लाको  सदरमुकाम मलंगवामा  लागुऔषध नियन्त्रण तथा अपराध न्युनिकरण सम्बन्धि  कार्यक्रमको आयोजना गरि लागुऔषध गाँजा खेती नष्ट ,उत्पादन ,प्रयोग,संचय र ओसारपसार नियन्त्रणको सम्बन्धमा नियमन निकाय र सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको छ । 

      भारत सँग जोडिएका अन्तराष्ट्रिय सीमा क्षेत्रमा अवस्थित जिल्लाहरुमा लुकी छिपी लागुऔषधको ओसारपसार बढी हुने भएकाले न्युनीकरण गर्न निकै समस्या भएकोले यसको नियन्त्रणका लागि  ठुलो प्रयासहरु भएपनि दुर्व्यसनीहरु छिमेकी(भारत) देशमा गई लागुऔषध प्रयोग गरेर आउने भएकाले लागुऔषध न्युनीकरण गर्ने कार्य चुनौतीपूर्ण रहेको सर्लाही प्रहरी प्रमुख एसपी संतोष सिंह राठौरले  बताउनु भयो ।  सर्लाही र सिन्धुली जिल्लाको सिमानामा पर्ने चुरे तथा विकट क्षेत्रको नारायणखोलामा व्यापक मात्रामा गाँजाको खेती हुने गरेको एसपी राठौरले बताउनुभयो ।प्राप्त सूचनाको  आधारमा प्रजिअको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पटकपटक गरि २१ बिगहा जग्गामा लगाइएका २ लाख भन्दा बढी गाँजाको बोट नष्ट गरिसकेको उहाँले जानकारी गराउनु भयो 

     नेपालमा लागुऔषध नपाइए पनि दुर्व्यसनमा लागेका युवायुवतीहरु भारतमै गएर प्रयोग गर्ने गरेको कार्यक्रममा सहभागीहरुको भनाई छ । कार्यक्रममा बोल्ने अरु बक्ताहरुले पनि लागुऔषधको न्युनिकरणमा सबै क्षेत्रको ध्यान जानु आवश्यक रहेको बताएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीको समन्वयमा आयोजना गरिएको  कार्यक्रममा मन्तव्य राख्ने क्रममा कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।

  मुख्यगरी बेरोजगार युवाहरु यस्ता दुर्व्यदनको  सिकार हुने गरेका छन् । साथीहरुको संगतले र अभिभावकको सन्तान प्रतिको निगरानीमा कमीका कारण पनि युवायुवतीहरु लागुऔषधको कुलतमा फस्ने गरेको गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण शाखाका शाखा अधिकृत एवं उपसचिव अर्जुन भण्डरीको भनाइ छ ।

    गृह मन्त्रालय लागुऔषध नियन्त्रण महाशाखाका प्रमुख उपसचिव शालिग्राम शर्मा पौडेलको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी, सुरक्षा निकायका प्रमुख,स्थानीय तहका प्रमुख ,औषधि व्यवसायी ,सरोकारवाला निकायका प्रतिनिधि तथा संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

    कार्यक्रम मलंगवा स्थित जानकी फैमिली होटलको सभाहलमा सम्पन्न भएको थियो ।


 



No comments:

Post a Comment