Tuesday, February 9, 2021

सर्लाहीमा गोलभेंडाको उत्पादन बढ्यो मूल्य घट्यो, लागत नउठ्ने चिन्तामा किसान


सर्लाहीमा गोलभेंडाको उत्पादन बढ्यो मूल्य घट्यो, लागत नउठ्ने चिन्तामा किसान 


मनोज यादव----

सर्लाही ,माघ २७

      केही दिन अघिसम्म प्रति क्रेट १ हजार र सो भन्दा बढी मुल्यमा बिक्री हुँदै आएको गोलभेँडाको मूल्य आधाले घटेपछि सर्लाहीका व्यवसायीक तरकारी  किसानहरु मारमा परेका छन्। अहिले गोलभेडाको बजार मूल्य आधाले घटेर प्रति क्रेट ४५० देखि ५०० रुपैयामा बिक्री भइरहेकोले उत्पादन गर्न लगाएको लागत पनि नउठ्ने भन्ने चिन्तामा परेका छन् ।

    उत्पादनको  सुरुवातमा गोलभेडाले राम्रो मूल्य पाए पनि पछि उत्पादन बढ्न थालेपछि  मूल्य आधाले  घटेको किसानहरुले बताए । अझैपनि उत्पादन बढिरहेकाले गोलभेडाको मूल्य अझ घट्ने उनीहरूले बताए  । उत्पादनको  सुरुवात र  अन्तिम समयमा गोलभेडा कम निस्कने भएकोले यसले राम्रो मुल्य पाउने तर हरेक वर्ष यो  समयमा उत्पादन बढी हुनेभएकोले मुल्य घट्ने गरेको लालबन्दीका किसान भोला राय बताउँछन् । बजारमा गोलभेडा धेरै मात्रामा भित्रिएको भन्दै  व्यापारीहरुले हरेक वर्ष यो समयमा मूल्य घटाउने गरेका कारण  किसानहरु मारमा पर्ने गरेको किसान रायले बताए । तर व्यापारीहरु भने  उत्पादन अनुसार बाहिर निकासी नहुँदा मूल्य घटेको बताउने गरेका छन्। अहिले बजारमा भारतीय गोलभेडा पनि भित्रिएकाले स्थानीय स्तरमा  उत्पादन भएको गोलभेडाको मूल्य घटेको उनीहरूको व्यापारीहरुको भनाइ छ। 

       सर्लाहीको लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिका क्षेत्रका किसानहरुले सैयौं बिघा जमिनमा व्यवसायिक रुपमा गोलभेडा खेती गर्दै आएका छन् ।यस क्षेत्रका किसानहरुले  स्थानीय स्तरमा उत्पादन गरेको  गोलभेडा जिल्लाको सदरमुकाम मलंगवा ,बयलबास लालबन्दी,नवलपुर,हरिपुर र हरिवन बजारमा ल्याएर बिक्री गर्ने  गरेका छन्। यहाँ उत्पादन भएको गोलभेडा जिल्ला बाहिर काठमाडाैं, हेटौंडा ,पोखरा, बुटवल, नारायणगढ,बिराटनगर, धरानलगायत देशका ठूला सहरहरुमा समेत निर्यात हुने गरेको छ । 

     सर्लाहीमा मंसिरदेखि चैतसम्म गोलभेडाको उत्पादन हुने गरेको छ। अहिले लालबन्दी बजारबाट मात्रै दैनिक ३ देखि ४ सय क्विन्टल गोलभेडा जिल्ला बाहिर निकासी भइरहेको 

लालबन्दी तरकारी बजार व्यवस्थापन समितिले जनाएको छ।  




No comments:

Post a Comment