Sunday, February 28, 2021

सर्लाहीमा सवारी लाइसेन्स विना नै अधिकांश अटो संचालनमा

 


----दुर्घटनाको जोखिम बढदै----


मनोज यादव----

सर्लाही ,फाल्गुन १६

      सर्लाहीमा  सवारी चालक अनुमति पत्र (लाइसेसन्स) विना नै अधिकांश अटो रिक्सा तथा टेम्पु निर्वाध रुपमा सञ्चालन भइरहेको पाइएको छ ।

   जिल्लाका शहर बजारदेखी गाउँघरसम्म पुग्नलाई सबभन्दा सस्तो र भरपर्दो सवारीको रुपमा अटोलाई नै लिने गरिन्छ ।एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न अटो रिक्सा तथा टेम्पु सबैलाई सहज भएको छ तर अटो चलाउने अधिकांश चालकसँग लाइसेन्स छैन ।जिल्लामा  लगभग ७५ प्रतिशत अटो तथा टेम्पु चालकसँग सवारी लाइसेन्स नहुँदा दुर्घटनाको जोखिम समेत उतिकै रहेको देखिएको छ। 

जिल्लाको सदरमुकाम मलंगवा लगायत प्रमुख शहर तथा ग्रामीण  क्षेत्रमा चल्ने अधिकांश चालकसँग चालक अनुमति पत्र लाइसेन्स नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अधिकांश चालकले अनुमतिपत्र विना नै अटो रिक्सा तथा टेम्पु चलाउने गरेको भन्दै बेलाबेलामा छड्के चेकिङ गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय मलंगवाका इन्चार्ज केपी मैनालीले बताए ।

   सवारी लाइसेन्स विहिन  अटो रिक्सा तथा टेम्पु चालकका कारण  सवारी दुर्घटना बढेको भन्दै त्यस्ता सवारीसाधन चलाउन माथि  रोक लगाउनुपर्ने स्थानीयहरुले बताएका छन। 

  अन्य सवारीसाधन भन्दा अटोको भाडा सस्तो हुने गरेकोेले कतै जानुपर्दा यात्रुहरु अटोलाई नै रोज्ने गरेका छन् । जसका कारण अहिले जिल्लाका शहर बजार देखी गाउँसम्म अटो रिक्सा तथा टेम्पुको चाप बढेको छ । दिनप्रति दिन अटो रिक्सा तथा टेम्पुको चाप बढदै गएको र ट्राफिक नियमको उल्लंघन समेत धेरै मात्रामा हुँदा दुर्घटना समेत बढेपछि सिमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किंग गर्न, रुट परमिट लिन र भाडा दर टाँस गर्न समेत अनिवार्य नभएको कारण अटो रिक्सा तथा टेम्पु चालकहरुको मनोमानी पनि बढेको पाइएको छ ।

अटो रिक्सा तथा टेम्पु लाई व्यवस्थि गर्न सके सवारी दुर्घटनामा समेत कमी आउने रिपोर्टस क्लब नेपाल सर्लाही शाखाका सचिव राजिव साहले बताए । 

    जिल्लाका अधिकांश टेम्पु चालकहरु पहिलाको रिक्सा चालकहरु रहेका छन् ।

No comments:

Post a Comment