Tuesday, February 16, 2021

बि.बि.ए पढेका सर्लाहीका एक युवा व्यवसायिक भैसी पालनबाट राम्रो आम्दानी गर्दै

 


---२५ लाख ऋण लिएर सुरु गरेको व्यवसाय एकवर्ष मै १ करोड २५ लाखको पुर्याए---


मनोज यादव----

सर्लाही ,फाल्गुन ४

    बि.बि.ए को पढाइ पूरा गरेर जागिर नखाइ  बाउ बाजेले गर्दै आएको पशुपालन पेशालाई अगाडी बढाउँदै  सर्लाहीका एक युवाले  भैँसी पालनबाट मनग्य आम्दानी गर्दै आएका छन ।

बाबु बाजेले गर्दै आएको कृषि पेसालाई नै अगाडी बढाउनु पर्छ भन्ने सोंच  लिएर बि.बि.ए को पढाइ सक्ने बित्तिकै जिल्लाको कविलासी नगरपालिका वडा नम्बर १० सलेमपुरका युवा रवीन्द्र यादवले गाउँमै कृषि फर्म खोलेर भैँसीपालन बाट मनग्ये आम्दानी गर्दै आएका छन् । 

      एकवर्ष अघि  करिब २५ लाख रुपैया बैंकबाट ऋण ल्याएर हिम अमृत कृषि फर्म दर्ता गराइ  भैंसी पालन व्यवसायतिर लागेको यादवले बताए । एकवर्ष देखि संचालन गर्दै आएको फर्ममा  पालिएका भैसीहरुबाट उनले  राम्रो आम्दानी गर्दै आइरहेका छन् । 

  यादवको कृषि फर्ममा अहिले जम्मा ५० वटा भैंसी , ३ वटा राँगा ,२५ वटा पाडापाडी र २ वटा गाईहरु रहेका छन् ।२५ वटा दुधालु भैंसी उनले फर्ममै राखेका छन भने दूध दिन छाडेका  २५ वटा भैंसीहरु गाउँकै स्थानीय किसानलाई पाल्नका लागि दिएका छन् । पाल्नका लागि दिएको किसानको गोठमा भेैंसी ब्याए पछि पाले वापत केही रकम दिएर पुनः फर्ममा फर्काएर ल्याउने  यादवले बताए ।फर्ममा भएका सबै पशुहरुको पशु बिमा समेत गराइसकेको उनले बताए ।

      पुर्व-पश्चिम राजमार्गदेखि दक्षिणतर्फ नवलपुर- मलंगवा सडक खण्ड अन्तर्गत पर्ने त्यस क्षेत्रको  सुप्रशिद्ध चमेली माईको मन्दिर नजिक सडक छेउको ८ कठ्ठा जग्गामा संचालन भइरहेको उक्त कृषि फर्ममा पालिएका भैंसीहरुको आहाराको लागि साढे ३ बिघा जग्गा भाडामा लिएर  घाँस समेत रोपेका छन् । प्रत्येक दिन एउटा भैंसीको लागि ५० किलोग्राम आहाराको आवश्यक्ता पर्ने गरेको छ ।यसका लागि प्रति भैंसी   ३० किलो सुख्खा भुँस,१५ किलो हरियो घाँस र ५ किलो दाना मिसाएर   खाना तयार पारिन्छ ।

     उक्त कृषि फर्मबाट  दैनिक २ सय  लिटर दूध उत्पादन हुने गरेको छ ।यादवले  कृषि फर्ममा उत्पादन भएको दुध बजार सम्म पुर्‍याउनका लागि फर्मसँगै डेरी पनि खोलेका छन् ।उक्त डेरीमा आसपासका स्थानीय किसानहरुले उत्पादन गरेको दूध समेत संकलन गरि दैनिक ५ सय लिटर भन्दा बढी दूध मलंगवा लगायतका ठूला बजारमा पठाउने गरेको तर पनि बजारको माग अनुसार पुर्‍याउन  नसकिएको यादवले बताए ।

    यादवले  कृषि फर्ममा २ जना स्थानीय ब्यक्तिलाई  रोजगारी समेत दिएका छन्  ।उनले अझै भैंसी थप्ने योजना रहेको समेत बताए  ।

     एकवर्ष पहिले २५ लाख रुपैया बैंकबाट ऋण लिएर सुरु गरेको व्यवसाय अहिलेको अवस्थासम्म आइपुगेर १ करोड २५ लाख रुपैया पुगिसकेको छ ।दूध बिक्रीबाट राम्रो आम्दानी भइरहेकोले कृषि पेशाबाट आफू पुर्ण सन्तुष्ट रहेको यादवको भनाई छ ।

युवा शक्ति सबै विदेश जाने क्रम चलिरहेको बेला उनी भने यस क्षेत्रका युवाहरुको बिच गतिलो उदाहरण  बनेका छन् ।

    कृषि फर्म संचालक यादवले पढेलेखेका युवाहरुलाई जागिर नपाएर  वैदेशिक रोजगारीमा जानू भन्दा आफ्नै देशको भुमीमा रहेर कृषि क्षेत्रमा लाग्न सल्लाह दिएका छन् ।कृषिमा पशुपालन मात्र नभइ व्यवसायीक तरकारी तथा फलफुल खेती, मत्स्यपालन ,पोल्ट्री फारम तथा कृषि सम्बन्धि अन्य विभिन्न क्षेत्रमा राम्रो सम्भावना रहेकोले आफुले गर्न सक्ने कुनैपनि एउटा व्यवसाय छनौट गरि त्यस सम्बन्धि तालिम लिइ  दक्षता हासिल गरेर अगाडी बढ्न उनले आफुजस्तै युवाहरूलाई सुझाव दिएका छन् ।

     कृषि व्यवसाय संचालन गर्न सरकारले किसानलाई सहुलियत व्याजदरमा  ऋण उपलब्ध गराउँदै आएको छ ।बेलाबेलामा अनुदान दिने र ऋणको ब्याजमा समेत सहुलियत दिने गरेकोले कृषि पेशा अरु पेशा भन्दा सुरक्षित रहेको यादवको भनाइ छ । 

     यादवले संचालन गरेको कृषि फर्ममा  जिल्लाकै ब्रह्मपुरी गाउँपालिका भेल्ही बस्ने उनका भिनाजु सुवोध यादवको पनि लगानी रहेको छ ।उनी पनि अमिनको जागिर छाडेर यस पेशामा लागेका हुन । 


             


No comments:

Post a Comment