Tuesday, February 23, 2021

कोभिड सिल्ड खोप लगाउन सर्लाहीका जनप्रतिनिधिहरुमा उत्साह देखिएन/जम्मा ११ जनाले खोप लगाए

 



मनोज यादव----

सर्लाही ,फाल्गुन ११

    सर्लाहीमा अति जोखिममा रहेकाहरुलाई प्राथमिकतामा राखेर  कोरोना भाइरस विरुद्धको कोभि शिल्ड खोप पठाएपनि खोप लगाउनेहरु कमै  देखिएका छन् ।खोप नलगाउनेमा पहिलो नम्बरमा निर्वाचित जनप्रतिनिधिहरु परेका छन् । सर्लाहीमा जम्मा ११ जना स्थानीय तहका जनप्रतिनिधिहरुले मात्र खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । जनमानसमा कोरोना खोप बारे फैलाइएका अनेक भ्रमका कारण प्राथमिकतामा परेकाहरुले नै खोप नलाएको पाइएको छ ।

     जिल्ला जन स्वास्थ्य कार्यालय मलंगवाका अनुसार पहिलो र दोस्रो चरण गरि फाल्गुन १० गते सोमबार सम्म सर्लाहीमा जम्मा ६ हजार ८२ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । पहिलो अभियानमा २ हजार ९ सय ७६ र दोस्रो अभियानमा ३ हजार १०६ जनाले खोप लगाएका हुन् ।लक्ष्य अनुसार खोप नलगाइएकाले  गएको शनिवारदेखि पुनः सोमवारसम्मका लागि खोप लगाउने अवधि थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। ।समय थपिएपछि  अरु दिनको तुलनामा सोमवार अर्थात     अन्तिम दिन  खोप केन्द्रहरुमा केही  भिड देखिएको थियो । 

    सर्लाहीमा  जिल्ला अस्पताल मलंगवासँगै लालबन्दी, हरिपुर, बरहथवा, जमुनिया र अचलगढमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुबाट खोप लगाउने काम भइरहेको जन स्वास्थ्य कार्याय मलंगवाका प्रमुख श्रवणकुमार नायकले जानकारी दिए । आउँदो फागुन २३ गतेदेखि ५५ वर्ष भन्दा माथि उमेर समुहका नागरिकहरुलाई खोप लगाउने कामको तयारी भइरहेको उहाँले जानकारी गराउनुभयो । 

    प्राथमिकताको सूचीमा रहेका स्थानीय तहका जनप्रतिनिधिहरु सबैभन्दा कम कम खोप लगाएका छन् ।जबकी उनीहरुनै जनताको प्रत्यक्ष सम्पर्कमा रहने गरेका छन् ।  

   समाजमा फैलाइएका विभिन्नखाले हल्लाका कारण  खोप लगाउन चाहने ब्यक्तिहरु पनि खोप लगाउन डराउने गरेकाले लक्षित क्षेत्रका व्यक्तिहरु खोप लगाउन नआएको उहाँको भनाइ छ  । यो खोप सुरक्षित रहेकोले सरकारले निःशुल्क चलाइरहेको खोप अभियानमा सहभागी भईदिन उहाँले सबैसँग आग्रह गर्नु भएको छ । 

    खोप लगाएपछि केही ब्यक्ति बाहेक अधिकांशलाई कुनै प्रकारको साइड इफेक्ट नदेखिएको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।


No comments:

Post a Comment