Monday, February 15, 2021

सीमानाका बन्द हुँदा वारि चहलपहल,पारि सुनसान

 

सीमानाका बन्द हुँदा वारि चहलपहल,पारि सुनसान  

किनमेल गर्न भारत पुग्ने नेपाली उपभोक्ता स्वदेशकै भर पर्नथाले


मनोज यादव--

सर्लाही ,फाल्गुन ३

      कोरोना महामारीका कारण भारतसँगका सीमा नाका बन्द भएपछि नेपाल भारत सिमानाका अन्तर्गत  सर्लाहीको सदरमुकाम मलंगवा पारी रहेको भारतीय बजार सोनवर्षामा  किनमेल गर्दै  आएका नेपालीहरुको प्रवृत्ति अहिले फेरिएको छ।  नेपाली ग्राहकहरु किनमेलको लागि सिमापारी जान छाडेपछि सोनवर्षा बजारको चहलपहल पहिलेको भन्दा झण्डै आधा घटेको छ । 

    लकडाउन तथा  निषेधाज्ञाले नेपालको व्यापार व्यवसाय प्रभावित भए पनि विगतमा किनमेल गर्न भारत पुग्ने उपभोक्ता स्वदेशी बजारकै भर पर्न थालेका छन्। विगत १० महिना लामो समयदेखीको  सिमानाका बन्दले  दैनिक उपभोग्य खाद्यान्न सामाग्री, कपडा,इलेक्ट्रोनिक ,मेसिनरी ,औषधि , मोटरसाइकल मर्मत तथा पार्टसको बिक्री लगायतका ब्यापारहरुमा वृद्धि भएको छ ।  लकडाउन अवधिमा व्यापार बन्द भए पनि निषेधाज्ञा खुकुलो भएसँगै बिहानदेखि बेलुका सम्म पसलमा भ्याइनभ्याइ भएको मलंगवा नगरपालिका वडा न-९ स्थित एक रेडिमेड कपडा व्यापारी धनविर गुप्ताले बताए  । ‘पहिलेको भन्दा अहिले व्यापार  दोब्बर बढेको  छ’, उनले भने।‘सीमापारि मान्छे नजाँदा र सीमा बन्द हुँदा यताको व्यापार राम्रो छ।’

     सरकारले कोरोना महामारीमा भारतसँगको सीमा नाका बन्द गर्दाको सकारात्मक असर नेपाली बजारमा देखिएको छ । `पहिले एक सातामा हुने व्यापार अहिले एकदुइ दिनमै हुन्छ’, अर्का कपडा ब्यापारी रमेश साहले भने, 

नाका खुला हुँदा कारोबार न्यून थियो। दैनिक उपभोग्य वस्तु नुन, तेल, दाल, मसलादेखि चाडपर्व तथा बिवाहमा चाहिने विभिन्न सामाग्री र कपडासमेत खरिद गर्न नेपाली उपभोक्ता अधिकांश सीमावर्ती भारतीय बजार धाउँथे। त्यस्ता सामाग्रीहरु  मलंगवामै पाइने भए पनि सीमापारि केही रुपैया सस्तोमा पाइने भनेर पारिका बजारहरुमा नेपालीको भीड लाग्थ्यो। त्यस बेला वारिका व्यापारीहरु  पसल खोल्न र बन्द गर्नमै सीमित थिए।

    सिमानाका बन्द हुनुभन्दा पहिले नेपाली ग्राहकहरुले भरिभराउ रहने पारीका बजारहरु १० महिनादेखि सुनसान बनेको यहाँका व्यापारीहरु  बताउँछन । भारतीय बजारको भर पर्ने ग्राहक सबै नेपाली बजारैै जान थालेको व्यवसायीहरुको भनाइ छ। ‘वर्षौंदेखि सीमापारि राम्रो सामान पाउँछ । उता सामानहरु सस्तो छ। उतै किन्नुपर्छ भन्ने सोंच  नेपाली उपभोक्ताहरुको मनबाट हटेको छ ।अहिलेदेखिनै व्यवसायीहरुले ग्राहकलाई गुणस्तरीय सामान बेचेर सीमानाका खुलेपछि पनि स्वदेशी ग्राहकहरुलाई किनमेलको लागि पारी जानबाट रोक्नु पर्छ स्थानीय नेता अजय ठाकुरले भने ।

   बिस्तारै नेपाली ग्राहकहरुमा नेपाली बजारमै किनमेल गर्ने बानी पर्न थालेको मलंगवा नपा -२ की गृहणी मुक्ता यादवको भनाइ छ। ‘घरमा चाहिने चिनी, दाल, तेलदेखि लगाउने कपडासम्म किन्न सीमापारि सोनवर्षा बजार जान्थें’, उनले भने, ‘सीमा बन्द भएपछि यतै किन्छु। केही महँगो परे पनि अब बानी परिसक्यो ।’

    नेपाली ग्राहकहरु लकडाउन अगाडि बिवाह लगनको कपडा किन्न सिमापारीका साना बजारदेखि ठुला सहरसम्म पुग्ने गरेका थिए ।पहिले बिवाह लगनकै लागि भनेर ल्याएको कपडा बिक्री नभएर  लगानी डुब्ने डर भए पनि अहिलेको व्यापारले केही आशा पलाएको व्यापारीको भनाइ छ। 

    नेपाली उत्पादन नेपाली बजारमैै बिक्न थालेको र नेपालमै गुणस्तरीय सामान रहेछ भन्ने महसुस  ग्राहकमा हुन थालेको छ। पहिले दैनिक लाखौं रुपैया सिमावर्ती भारतीय  बजारमा पुग्थ्यो भने अहिले त्यो रकम नेपाली बजारमै रोकिएको  छ।

     नेपाली ग्राहकहरु जान छाडेपछि सिमावर्ती भारतीय बजारका व्यापारीहरु विस्तारै पलायन हुन थालेका छन्।सोनवर्षा र मेजरगंज बजारका एक दर्जनभन्दा बढी पसलेहरुले आआफ्नो पसल सारेका छन्। बोर्डर बन्दको सबैभन्दा बढी मार पारीको किराना र कपडा पसलको साथै  सवारीसाधन मर्मत गर्ने मोटर ग्यारेजमा परेको भारतका एक ब्यापारीले बताए । सीमावर्ती जिल्लाका बासिन्दा मोटरसाइकल, जिप, कारजस्ता सवारीसाधन  मर्मत गर्नु पर्दा  पारि जाने गर्थे ।बन्दले गर्दा मर्मतका लागि गाडी जान छाडेपछि  पारीका अटोमेकानिकहरु पनि विगत  १० महिनादेखि बेरोजगार भएका छन् ।  



No comments:

Post a Comment