Tuesday, February 23, 2021

चालु सिजनमा १५ करोड भन्दा बढीको टमाटर उत्पादन गरे सर्लाहीका किसान




लोकतन्त्र समाचारदाता---

सर्लाही ,फाल्गुन ११

       सर्लाहीका किसानहरुले चालु सिजनको तीन महिनामा १५ करोड रुपैंया भन्दा बढीको टमाटर  उत्पादन गरेका छन्।
टमाटर प्याकिङ गर्दै किसान 

   टमाटर (गोलभेडा)उत्पादनका लागि देशमै प्रख्यात र पकेट क्षेत्रको रुपमा रहेको लालबन्दी लगायत आसपासका क्षेत्रका किसानहरुले गत मंसिरदेखि माघसम्ममा १५  करोड रुपैंया भन्दा बढीको टमाटर उत्पादन गरेर  देशका विभिन्न ठुलासाना  शहरहरुमा निकासी गरेको जनाइएको छ ।लालबन्दी बजारबाट मात्रै तीन महिनामा ११ करोड २८ लाख ४४ हजार ५ सय रुपैयाको टमाटर  निकासी भएको कृषि उपज बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको  छ । जिल्लाको लालबन्दीसहित नवलपुर, सासापुर, हरिवन,  लगायत बजारबाट मुलुकका विभिन्न शहरहरुमा निर्यात हुने गरेको छ ।

     समितिका अनुसार व्यापारीहरुले लालबन्दी बजारबाट  मंसिरमा १ करोड ८२ लाख ९६ हजार २५० रुपैया, पुस महिनामा ३ करोड २४ लाख ९२ हजार २५० रुपैया  र  माघ महिनामा  ६ करोड २० लाख ५६ हजार रुपैया  बराबरको टमाटर  किसानहरुसँग खरिद गरेर  निकासी गरेका छन् । 

      जाडोमा उत्पादन कम हुने भएकोले मंसिर महिनामा बढी र फागुनदेखि गर्मी अत्याधिक बढ्दै गएपछि टमाटरको उत्पादन बढ्ने भएकाले  मूल्य अत्यन्त कम पाउने गरेका छन् ।

      जिल्ला कृषि विकास कार्यालय सर्लाहीका अनुसार जिल्लाको उत्तरी क्षेत्र स्थित ईश्वरपुर, लालबन्दी, हरिवन, हरिपुर र बागमती नगरपालिका क्षेत्रका २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा टमाटर खेती हुने गरेको छ ।


No comments:

Post a Comment